Logo

गणतन्त्रलाई कमजोर बनाउने प्रयास भैरहेको छ : उपेन्द्र यादव



काठमाडौं, १७ चैत्र । जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले पनि क्लबका सभापति ऋषि धमला र परिवारलाई रजत जयन्तीको अवसरमा बधाई दिए । उनले पत्रकारिता जगतमा धमलाको आफ्नो छुट्टै पहिचान बोकेको र आफ्नै किसिमको व्यक्तित्व रहेको सुनाए ।

रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा आयोजित विशेष समारोहमा उनले धमलाले पत्रकारिताको क्षेत्रबाट जनतालाई सुसुचित गर्ने र राजनीतिक दल र नेताहरुलाई सजग गराउने काम गरेको बताए । यादवले क्लबले जनताका सवालहरुलाई उजागर गर्ने गरेको स्मरण गराए । उनले अहिलेको सरकारको काँधमा अर्थतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी रहेको सुनाए । उनले आज सरकारले पूर्णता पाएकोले यसले मुलुकको अर्थतन्त्रलाई सुधार गर्ने विश्वास दिलाए ।

उनले जनतालाई राहत पुर्याउनेतर्फ सरकारको ध्यान हुनुपर्नेमा जोड दिए । उनले अहिले काठमाडौैंमा मिटरब्याजबाट आक्रान्त भएका पीडितहरु मधेशबाट काठमाडौं पैदल हिँडेर आएको सुनाउँदै सरकारले उनीहरुको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले अहिलेपनि मुलुक एकात्मक र पूरानो सामन्तीवादी चिन्तनबाट मुलुक मुक्त नभएको टिप्पणी गरे ।

उनले अहिले मुलुक संघीयतामा गएपनि यो नाम मात्रैको रहेको गुनासो पोखे । उनले अहिलेको संघीय प्रणालीमाथि प्रश्न उठाए । उनले वित्तियबिनाको संघीयताको औचित्य नहुने बताए । उनले संविधानलाई आवश्यक संशोधन गर्न जरुरी रहेको सुनाए । उनले संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रलाई कमजोर बनाउने प्रयास भैरहेको खतरा औंल्याए । उनले राजनीतिक रुपमा संघीय गणन्त्र संस्थागत नभएको बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot