Logo

हुम्लाको ताँजकोटमा आँखा शिविर



सिमकोट, ३० चैत । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । उक्त शिविरमा २८ पुरुष र ३५ महिलाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ ।

यही चैत २८ र २९ गते शिविर सञ्चालन गरिएको हो । शिविरमा मोतियाविन्दु र आँखामा मासु पलाएका बिरामीको शल्यक्रिया गरिएको थियो । आँखा शिविरबाट चार सय ७८ बिरामीले सेवा प्राप्त गरेका गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले जानकारी दिए । सेवा लिनेमा दुई सय ६१ पुरुष र दुई सय सात महिला छन् ।

उपचार गर्न आएका एक सय ९० जनालाई चश्मासमेत निःशुल्क वितरण गरिएको छ । यसअघि आँखाका बिरामीले उपचारका लागि तीन–चार दिन हिँडेर सदरमुकाम सिमकोट जानुपर्ने बाध्यता थियो । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार शिविरमा ११ चिकित्सकले बिरामीको जाँच गरेका थिए । नेपाल नेत्रज्योति सङ्घको आर्थिक, नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा ताँजकोट गाउँपालिकाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot