Logo

केही व्यक्तिलाई जोगाउन व्यवस्थाकै बलि दिन सकिँदैन : माओवादी नेता



काठमाडौं, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता डिलाराम आचार्यले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका व्यक्तिहरुलाई कारबाही गर्न सरकार पछि हट्न नहुने औंल्याएका छन् ।
‘भ्रष्टाचारीलाई कारबाहीका सन्दर्भमा सरकार वा पार्टी कुनै पनि सम्झौतामा जानुहुन्न, जाँदैन । अस्ति दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि प्रधानमन्त्री र गृहमन्त्रीसँग हाम्रो छलफल भएको थियो । उहाँहरुले जतिसुकै अप्ठ्यारो परे पनि कारबाही अघि बढाउने भन्नुभएको थियो । लहरो तान्दा पहरो त गर्जिएला । तर व्यक्तिलाई जोगाउन गणतान्त्रिक व्यवस्थाकै बलि दिन सकिँदैन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने ।
माओवादी नेता आचार्यले एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई सरकारले नफसाएको दाबी गरे । उनले भने, ‘हामीले कसैप्रति प्रपञ्च रचेर पूर्वाग्रह साँधेका छैनौं । यो दुई वर्ष अगाडि नै चर्चामा आएको विषय हो । न प्रचण्ड प्रधानमन्त्री हुनुहुन्थ्यो, न त नारायणकाजी गृहमन्त्री हुनुहुन्थ्यो । प्रहरीले लामो अनुसन्धानपछि पक्राउ पुर्जी जारी गरेको तथ्य हामीले बिर्सन मिल्दैन । टोपबहादुरजीलाई हामीले फसाएका पनि होइनौं । ८७५ नेपालीलाई नक्कली शरणार्थी बनाएर ५० लाखसम्म असुल्ने धन्दा पनि सिकाएका होइनौं ।’
पैसाको खेलोमेलोमा रायमाझीका युवा छोरा मुछिने स्थिति आउनु दुर्भाग्यपूर्ण भएको पनि उनले बताए । आचार्य र रायमाझी अर्घाखाँचीका एकै गाउँका हुन् र सँगसँगै राजनीति गरेका हुन् ।
भीआईपी वा हाई प्रोफाइल जो भए पनि भ्रष्टाचारीलाई निर्ममतापूर्वक कारबाही हुनुपर्ने र कारबाही गर्ने आँट नगरे गणतन्त्र जोगाउन मुस्किल हुने पनि आचार्यले औंल्याए । उनले भने, ‘नत्र गणतन्त्र मिलिजुली खाने व्यवस्था हो भन्ने सन्देश जान्छ । यसमा प्रचण्ड, ओली वा देउवाको मान्छे भनेर जानुहुन्न । डिलाराम आचार्यको गल्ती भए मलाई पनि हतकडी लगाएर जेल हाल्नुपर्छ । कतिपयले आग्रह पूर्वाग्रह साँध्दा भोलि बंगलादेश र पाकिस्तानको स्थिति आउँछ भनेका छन् । तर भ्रष्टाचारको मामिलामा हामी डराउनुहुन्न ।’
अर्को प्रसंगमा उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिलेका मन्त्रालय जस्ताको तस्तै दिन सम्भव नभएको पनि बताए । उनले भने, ‘माओवादीका मन्त्री साथीहरुले रवि आउने हो भने मन्त्रालय छाड्छु भन्नुभएको थियो । तर रविजीले पुरानो मन्त्रालय पाए सरकारमा आउने, नत्र प्रतिपक्षमा बस्ने दोहोरो खेल खेल्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot