Logo

भ्रष्टाचारीलाई कारबाही गर्न देउवा र ओली पनि तयार हुनुपर्छ : माओवादी नेता



काठमाडौं, २८ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद हितबहादुर तामाङले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न कांग्रेस र एमाले तयार हुनुपर्ने बताएका छन् ।
‘हिजो कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री पक्राउ परे । आजसम्म एमालेको सचिव पनि प्रहरीको शरणमा आउने सम्भावना छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुलाई अनुसन्धानको दायरामा ल्याएर भ्रष्टाचारीलाई हदैसम्म कारबाही गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठ तयार हुनुभएको छ । अब शेरबहादुर देउवा र केपी शर्मा ओली पनि तयार हुनुपर्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग संवाद गर्दै तामाङले भने ।
माओवादी नेता तामाङले एमाले सचिव टोपबहादुर रायमाझीले शरणार्थी प्रकरणमा हदैसम्म लापरबाही गरेको पनि औंल्याए । उनले भने, ‘पक्राउ पुर्जी जारी भएपछि आफैं आएर प्रहरीलाई बयान दिनुपर्नेमा अहिले बिरामी भएको बहानाबाजी गरिरहनुभएको छ । बिरामी हो भने उहाँ कुन अस्पतालमा भर्ना हुनुभएको छ ? के रोग लागेको छ ? थोरै पनि नैतिकता छ भने तत्काल आउनुपर्छ ।’
यसपटक भ्रष्टाचारीले उन्मुक्ति पाउने सम्भावना कम रहेको पनि उनले बताए । तामाङले थपे, ‘आरोपितहरु सबै अपराधी नै हुन्छन् भन्ने होइन । तर अपराधीभन्दा पनि जोगाउनेहरु महाअपराधी हुन्छ । प्रश्न उब्जिएपछि शेरबहादुर देउवाकी श्रीमती हुन् कि अरु जोसुकै होस्, अनुसन्धानको दायरामा आउनुपर्छ । व्यक्ति स्वयंले गिरफ्तारी दिएर अनुसन्धानमा सहयोग गर्नुपर्छ । उनले भ्रष्टाचारीलाई बचाउन लागेका व्यक्ति र पार्टी सकिने चेतावनी पनि दिए ‘। नेपालको नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर संगठित रुपमा मानव तस्करी गर्ने गिरोहलाई कारबाही गर्दा सरकार फेरबदल हुने स्थिति नरहेको पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot