Logo

एमाले नेता गैरे भन्छन्, ‘टोपबहादुर रायमाझी लुकेर बस्न हुँदैन’



काठमाडौं, ३१ वैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता ठाकुर गैरेले पार्टीका सचिव टोपबहादुर रायमाझीलाई कानुनी दायरामा ल्याउन आफूहरुले सघाउने बताएका छन् ।

हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेले पार्टीको तर्फबाट रायमाझीलाई गर्ने कारबाही गरिसकेको र बाँकी काम राज्यको भएको बताएका हुन् ।

‘पार्टीको तर्फबाट गर्ने काम पार्टीले गर्यो । टोपबहादुर रायमाझीलाई पार्टीले निलम्बन गर्यो । अब उनलाई गिरफ्तार गर्ने, कानुनी दायरामा ल्याउने, निष्पक्ष छानविन गर्ने र दोषि करार भएभने दण्डित गर्ने काम राज्यको हो । त्यसमा हामीले सघाउन पर्छ,’– गैरेले भने ।

एमालेको नाममा कसैले कुनै गैरकानुनी काम गरेरमा पार्टीले संरक्षण नगर्ने उनको दाबी छ । टोपबहादुर रायमाझी अब लुकेर बस्न नहुने उनले बताए । प्रहरी समक्ष आत्म समपर्ण गर्नसमेत उनले रायमाझीलाई आग्रह गरे ।

‘कुनैपनि व्यक्तिले नेकपा (एमाले) को कार्यकर्ताको नाममा, निर्वाचित जनप्रतिनिधिको नाममा, एमालेको नाममा कुनैपनि व्यक्तिले बेथिति गर्छभने नेकपा (एमाले) ले संरक्षण गर्दैन । दण्डित गर्नका लागि आवश्यक सहयोग गर्छ । टोपबहादुर रायमाझी लुकेर बस्नु हुन्न । प्रहरीमा आत्मसमर्पण गर्नपर्छ । प्रहरीले निष्पक्ष छानविन गर्नपर्छ । अदालतले दोषी हो कि होइन भन्ने कुराको निरुपण गर्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot