Logo

रायमाझी र खाँण समुन्द्रमा खेल्ने डल्फिन हुन्, सरकारले समातेरै देखायोः मन्त्री किराँती (भिडियोसहित)



काठमाडौं, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँतीले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्रीहरु बालकृष्ण खाँण र टोपबहादुर रायमाझीलाई डल्फिनको संज्ञा दिएका छन् ।

हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री किराँतीले खाँण र रायमाझी खोल्साखाल्सीमा खेल्ने साना माछा नभएको टिप्पणी गरेका हुन् ।

‘यी त खोलाखाल्सीमा खेल्ने माछा होइनन्, यी त समुन्द्रमा खेल्ने डल्फिनहरु हुन् । समाते त । उपप्रधानमन्त्री भनेको प्रधानमन्त्री मुनिको होइन ? विपीले भन्नुहुन्थ्यो रे, सत्य बहुआयमिक हुन्छ । सत्यमाथि कसैको एकाधिकार रहँदैन । मान्छे भन्दा त समय बलवान रहेछ नि त ! आज देखियो,’– मन्त्री किराँतीले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले प्रभावकारी ढंगले छानविन गरिरहेको उनको भनाई छ । छानविनलाई प्रभावकारी बनाएर दोषीलाई कानुन बमोजिमको कारबाही गर्ने कुरामा सरकार दृढ र प्रतिबद्ध रहेको उनको भनाई छ ।

‘नेपाल प्रहरीले प्रभावकारी ढंगले छानविन गरिराखेको छ । त्यसमा कुनै प्रभाव (ग्रहण) पर्न नदिनका निम्ति सरकार प्रतिबद्ध छ । यदि हामीले चलखेल गरेर यहाँ ग्रहण देखायौं भने त्यसको आयु जनताले तोकिदिन्छन्,’– उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली मिलेर नक्कली भुटानी शरणार्थी प्रकरणलाई कमजोर बनाउन लागि परेको कुरामा कुनै सत्यता नरहेको उनको दाबी छ । सरकार जतिदिन टिकेपनि भ्रष्टाचारविरुद्धमा दृढतापूर्वक जान प्रधानमन्त्री तयार रहेको उनको भनाई छ । आफूले प्रधानमन्त्री प्रचण्डसँगको भेटवार्तामा पनि उक्त कुरा उठाएको स्मरण गर्दै उनले अहिलेको सरकारको खुट्टा सखुवाको जस्तो दह्रो रहेको उनले बताए ।

‘त्यो त मान्छेले चलाएको हल्ला हो । यसमा हाम्रो प्रधानमन्त्री दृढ नै हुनुहुन्छ भन्ने मलाई लाग्छ । मैले भेटघाटमा उहाँसँग कुरा गरेको छु । उहाँको कुरा सुनेको छु । आखिर हिजो पनि हामीले देशको निम्ति जीवनको राजीनामा लेखेर हिँडेकै हो, आज हिजोभन्दा त सजिलो छ । दृढतापूर्वक जाने हो, सरकार जतिदिन टिक्छ तर सत्यको पक्षमा उभिएर । यस पाल चाहिँ हाम्रो नेतृत्वको सरकारको खुट्टा एकदम सखुवाजस्तो छ, सतिसालजस्तो,’– उनले भने । File Photo/ Reporters Nepal 



प्रतिक्रिया दिनुहोस्

Screenshot