Logo

गौतम बुद्ध विमानस्थल सञ्चालनबारे भारतसँग छलफल



काठमाडौं, जेठ ११। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा देखिएका प्राविधिक समस्या समाधान गर्न पहल सुरु भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव तथा हवाई उद्योग महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेको नेतृत्वमा भारत पुगेको प्राविधिक टोलीले बुधबार भारतीय नागरिक उड्डयन प्राधिकरणसँग विमानस्थल सञ्चालनमा देखिएका प्राविधिक समस्याबारे छलफल गरेको छ।

प्राविधिक टोलीले गत वर्ष जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रस बोर्डर उडानमा देखिएको समस्या, हवाई प्रवेश बिन्दु, विमानस्थलमा जडान गरिएको इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (आइएलएस) उपकरण सञ्चालनका लागि भारतीय पक्षसँग छलफल गरेको पर्यटन मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सचिव सुरेश अधिकारीले भने, “विमानस्थल सञ्चालनका लागि भारत भ्रमणमा रहेको प्राविधिक टोलीले बुधबार भारतीय नागरिक उड्डयन प्राधिकरणसँग द्विपक्षीय छलफल गरेको छ। छलफलबाट प्राप्त उपलब्धिलाई प्रतिवेदनका रूपमा तयार पारेर छिट्टै हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमार्फत निकास दिन सकिने छ।”

प्राविधिक वार्ता टोलीमा मन्त्रालयका सहसचिव बुद्विसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख हंसराज पाण्डे, हवाई सुरक्षा विभाग (सेफ्टी) का प्रमुख राजेन्द्र श्रेष्ठ र हवाई मार्ग व्यवस्थापनका तीन जना सदस्य रहेका छन्। वार्ता टोली आज नेपाल फर्किनेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्