Logo

पर्यटन प्रवर्द्धनका लागि बाइक राइड



काठमाडौं, १५ जेठ । पर्यटन, संस्कृतिका लागि महत्वपूर्ण मानिएका होमस्टेको प्रवर्द्धनका लागि बाइक राइड गरिएको छ।

रेभ्ज मोटरको आयोजनामा भएको रेभ अप अन होमस्टेज शीर्षकको कार्यक्रममा राइडरहरू विभिन्न जिल्लाका मुख्यमुख्य ठाउँमा पुग्ने कार्यक्रम रहेको बताइएको छ।

सोमबार होमस्टे प्रवर्द्धनका लागि यात्रामा निस्किएका युवालाई नेपाल टुरिजम बोर्डका उपाध्यक्ष चन्द्र रिजालले बिदा गरेका छन्। रिबन काटेर बाइक स्टार्ट गर्दै यात्राको शुभारम्भ भएको जनाउँ दिएका रिजालले कोभिड-१९ पछि पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने धारणा राखे।

‘तपाईँहरू जस्तो युवाले स्थानीय पर्यटनको प्रवर्द्धन गर्नु हाम्रो लागि पनि गर्वको विषय हो। जसरी आज सगरमाथा दिवसको महत्व छ, आगामी वर्षहरूमा यो राइडको पनि महत्व हुन्छ भन्‍ने लाग्छ, अपेक्षा गर्दछु। यो किसिमको यात्राले स्थानीय उत्पादनको बजारीकरणमा पनि पक्कै टेवा पुग्नेछ’, रिजालले भने।

आयोजक निश्चल नेपालले युवाहरूमा सँस्कृति र मौलिकताको जानकारी गराउन राइडको कार्यक्रम गरेको जानकारी गराएका थिए। उनले साहसिक पर्यटनका लागि हिमालनै पुग्नुपर्छ भन्ने छैन भन्‍ने कुरा बुझाउन पनि राइड उपयोगी हुने बताएका थिए।

सोमबार काठमाडौँबाट सुरु भएको यात्रा ५ जिल्लामा रहेका होमस्टे भ्रमणसँगै सकिनेछ। यसमा राइडरले लम्जुङको राईनासकोट, कास्कीको ल्वाङ, स्याङग्जाको सिरुवारी पाल्पाको गुम्बु र चितवनको मेघौलीमा पुगेर प्रवर्द्धनका कार्यक्रम गर्नेछन्।

होम स्टे बसाइका क्रममा विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने र स्थानीय परिकारको स्वादलिने कार्यक्रम रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्