Logo

सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाधिनताको पक्षमा सरकार दृढ छ : उपप्रधान एवं गृहमन्त्री श्रेष्ठ



काठमाडौं,१७ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र स्वाभिमानको पक्षमा दृढ रहेको बताएका छन् ।

बुधबार गृहमन्त्रालयमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले नेपालको राष्ट्रियतासँग सम्बन्धित मुद्दाहरूमा सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले राष्ट्रिय हित विपरीतका गतिविधिमा कुनै सम्झौता नहुने स्पष्ट पारे । गृहमन्त्री श्रेष्ठले कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको पनि बताए ।

“सरकार राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता, स्वाभिमानको पक्षमा दृढ छ । यसमा कहिल्यै कुनै सम्झौता गरिने छैन । यसको प्रतिकूल कुनै काम गरिने छैन । कतिपय मुद्दामा सरकारले भारतसँग कूटनीतिक माध्यमबाट छलफल गरिरहेको छ । ऐतिहासिक तथ्यका आधारमा छलफल गरिरहेका छौँ । दुई देशको पारस्परिक हितको पक्षमा नै छलफल गर्नुहुनेछ,” उनले भने ।

भारतमा गत आइतबार उद्घाटन भएको नयाँ संसद् भवनमा अखण्ड भारतको नक्शामा नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र राष्ट्रियताविरुद्ध नेपालको भूभाग समेटेकोप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले ध्यानाकर्षण गराएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot