Logo

सत्ता गठबन्धन टुट्दैन, तत्काल एमालेसँग सहकार्य हुँदैन् : रामहरि खतिवडा (भिडिओसहित)



काठमाडौं, २७ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताएका छन् । उनले भविष्यमा हिजो लोकतन्त्रको लागि सँगै लडेको एमालेसँग सहकार्य भने हुनसक्ने विश्वास दिलाए ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता खतिवडाले देश बनाउने अभियानमा सबै दलहरु एकमत भएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘अरुलाई आलोचना गरेर मुलुक निर्माण हुन्छ भन्ने विश्वास मलाई छैन् ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘हामीलाई पनि लागेको छ, भ्रष्टाचार भनेको मेरो र तेरो भनेर छुट्याउने कुरा होईन । यो लेनदेनमात्रै होईन, यो आचरणको पनि कुरा हो । चर्चामा आएका कुराहरु जो छन्, नक्कली भुटानी शरणार्थी प्रकरणकै कुरा छ, नेपाली कांग्रेसले निश्पक्ष छानबिनको लागि अनुरोध गरेको छ । हाम्रो प्रष्ट मान्यता के हो भने–कोही निर्दोष फस्नुहुँदैन अनि दोषी उम्कनुहुँदैन् ।’

खतिवडाले कसैले पोलेकै आधारमा मान्छे समात्ने हो भने धेरै जनाको नाम बाहिर आएको सुनाए । उनले भने,‘यो प्रकरणमा मैले पनि धेरैको नाम सनुेको छु, केपी ओलीको पिएको नाम आएको छ। बादल दम्पत्तिको नाम आएको छ। अख्तियार प्रमु्ख प्रेमकुमार राईको पनि नाम चर्चामा छ । म भन्न चाहन्छु की प्रहरी कसैको दबाबमा नपरोस । यो प्रकरणमा प्रहरीलाई म गहनताका साथ छानबिन गर्न अनुरोध गर्दछु । हद म्यादका कारण कोही अपराधी नउम्किनु।’ सो क्रममा उनले यति, ओम्नी, बालुवाटार प्रकरणलगायत सबैमा गम्भीर छानबिन हुनुपर्ने माग गरे । उनले थपे,‘प्रधानमन्त्री होस वा उपप्रधानमन्त्री होस, बालुवाटारको जग्गा लिएर फिर्ता गर्दैमा अपराधी हुँदैन भन्न सकिन्छ र ?’

उनले अहिले देश बनाउने अभिभारा युवा पुस्ताको काँधमा आएको सुनाए । उनले भने,‘जनताले युवा पुस्तासँग आश गरेका छन् । राजनीतिमा आउँदा खासगरी पार्लियोमेन्टमा बोल्दा एउटा कुरा, अनि टिभीमा अर्को कुरा गर्ने, जनतासँग जाँदा एउटा अनि नेतासँग अर्को कुरा गर्ने गरेको पनि पाईयो । यो कुरा जनताले नजिकबाट नियाँलिरहेका छन् ।’ उनको उक्त अभिव्यक्ति रास्वपालक्षित थियो । खतिवडाले थपे–‘अहिले कोर टिमका कुरा पनि आएका छन् । त्यसबारेमा पनि छानबिन हुनुपर्छ । राष्ट्रिय परिचयपत्रको कुरा आएको छ, तत्कालिन गृहमन्त्रीले टेण्डर गरे, अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यो टेण्डर रद्द गरेको कुरा छ । उहाँले त्यो टेण्डर किन रद्द गर्नुभयो भन्नेबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्छ ।’

नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल नै भएको दाबी गरे । उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले गेरु वस्त्र पहिरिने काम गरेको तर कुनै ठूला सन्धी र सम्झौता भएनन् भनेर चर्चा भएपनि १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने सम्झौता हुनु ठूलो उपलब्धि र खुशीको विषय भएको उल्लेख गरे । उनले भने,‘मलाई एउटा खुशीको कुरा यो भ्रमणमा के लागेको छ भने जुन १० हजार मेगावाट विद्युत भारतले १० वर्षमा लिने सहमतिको वातावरण सिर्जना भयो, यो नेपालको लागि राम्रो काम हो । भ्रमणमा जाने सबैलाई यो कामको लागि धन्यवाद दिन चाहन्छु ।’

उनले अहिले अनावश्यक बहसको भूमरीमा परेको पनि गुनासो पोखे । उनले भने,‘मुलुक कहाँ छ ? भैंसी र राँगाबारे बहस भैरहेको छ, यसबारे बहस गर्न हामी तल्लिन भएका छौं । संसद्मा जलहरीको कुरा आयो । संसद् बन्द भयो । नक्कली भुटानी शरणार्थीको कुरा आउँदा जलहरी प्रकरण आयो । यो जलहरी प्रकरणमा पनि छानबिन हुनुपर्छ भनेका छौं । महालेखापरीक्षकको प्रतिवेदनमा संसद्मा छलफल हनु दिएको छ, त्यो विषय रेकर्डबाट हटाउन भनिएको छ । यो गलत भयो । १० किलो सुन बेपत्ता भएको छ भनिएको छ । त्यो खोज्ने सबैको दायित्व हो । यो बास्तवमा छानबिन हुने विषय हो । पशुपतिजस्तो सबैले मान्ने र पुज्य ठाउँमा ७ करोडको १० किलोको सुन हराउँछ ? भने मुलुक कहाँ होला ?’ उनले उक्त प्रकरणमा सत्ता पक्ष र प्रतिपक्ष बसेर तार्किक निश्कर्षमा पुगाउने होला भन्ने विश्वास लिएपनि संसद्को रेकर्डबाट हटाउनु दुःखद् भएको टिप्पणी गरे ।

उनले चीनका राष्ट्रपतिलाई नेपालले गैंडा उपहार दिएको र चीनले विगतमा आफूहरुलाई रेड पाण्डा दिएको इतिहास पनि स्मरण गराए । तर, अहिले प्रधानमन्त्री दाहालको भारत भ्रमणको क्रममा नेपाललाई मुर्रा रांगा दिईएकोबारे आलोचना भएकोमा उनले गुनासो पोखे । उनले भने,‘अहिले जताततै रांगा र भैंसीमात्रै देखिन्छ । कमसेकम हामी अब परिवर्तन हुनुपर्छ । मुलुक २१ खर्ब व्यापार घाटाको मारमा छ । वैदेशिक ऋणमात्रै १० खर्ब ७० अर्ब छ ।’

मुलुकमा गलत राजनीतिक संस्कार हाबी भएको उनको गुनासो छ । उनले भने,‘राजनीति अर्को बाटोबाट हिँड्न खोजेको छ । हामीले राणाशासनको इतिहास पढ्यौं । एउटा राणाले अर्को राणालाई सिध्याएर पावरमा गएका छन् । अहिले पनि त्यही खुट्टा तान्ने प्रवृत्ति छ । राम्रो गरेकोलाई ठीक गरिस भन्नुपर्छ ।’

नेता खतिवडाले नागरिकता विद्येयक प्रमाणीकरण भएकोमा कसैले पनि विरोध गर्नुको अर्थ नभएको जिकिर गरे । उनले भने,‘यो विद्येयकमा एउटा हातमा सिन्दुर र अर्को हातमा नागरिकता दिने कुरा गरिएको छैन् । हिजो केपी ओली सरकारको नेतृत्वमा हुँदा ल्याएको अध्यादेशजस्तै हो । त्यो अध्यादेशमा भएको कुराको कमा र फूलस्टेप चेन्ज गरेको छैन् । सार्वभौम संसद्ले दुई÷दुई पटक विद्येयक पारित गरेर पठाएको थियो । तत्कालिन राष्ट्रपति विद्या भण्डारीलाई त्यो सदनले पारित गरेर पठाएको विद्येयक होल्ड गर्ने अधिकार थिएन । राष्ट्रपति कार्यालय त अविछिन्न संस्था हो । अहिलेको राष्ट्रपतिज्यूले हिजोको कामलाई निरन्तरता दिनुभएको छ । नेपाली नागरिकका छोराछोरीलाई नागरिकता दिने कुरा गरिएको छ । भ्रमको काममा कोही नलागिदिनुहोस । अहिले त यो सर्वोच्च अदालतको विचाराधिन विषय बनेको छ । कानूनी राज्यलाई दह«ो बनाउनुपर्छ । सर्वोच्च अदालतको निर्णय सधैं सम्मान गरिनेछ ।’

उनले अहिले बजेट समावेशीताको आधारमा नआएको भन्ने गुनासो रहेको पनि उल्लेख गरे । उनले भने,‘केही नेताका ठाउँमा बजेट बढि राखिएको देखियो । यो सरासर गल्ती हो । बजेट समावेशी भएन । नाता र दातामा लग्ने प्रवृत्ति देखियो । बजेट सारै खत्तम नै भयो भन्ने कुरा पनि आयो । तर, त्यस्तो पनि होईन । हिजोको दिनमा सिसिटिभी पनि गायबै भएको देखियो । अहिले करको दर हेरफेर गरियो भनेर कुरा आयो । रामकृष्ण श्रेष्ठले टाइप गरेको विषयमा, अहिलेको अर्थमन्त्रीले बजेट चुहाउनुभयो भन्ने छैन् ।’

उनले एमालेसँगको गठबन्धन बन्नेबारे तत्काल कुनै सम्भावना नरहेको जिकिर गरे । एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले मुुकलाई निकास दिनको लागि प्रचण्डबाट मुलुकलाई मुक्त गराउनुपर्ने कांग्रेस र एमालेबीच सहकार्य हुनुपर्ने आवश्यकत्ता औंल्याएका थिए ।

सो सम्बन्धमा जवाफ दिने क्रममा नेता खतिवडाले भने,‘अहिले यहाँ गठबन्धनको कुरा पनि आयो, कोहीसँग सधैं पानी बाराबार हुनुपर्छ भन्ने पक्षमा नेपाली कांग्रेस छैन् । हिजो संगै हिँडेका साथीहरु एक हुनुपर्छ । तर, आज÷भोलि नै सत्ता परिवर्तन हुँदैन । यो सम्भावना मैले देखेको छैन् । तर, भविष्यमा मिलेर जाने आधार धेरै छन् । मुलुक गाली गरेर बन्दैन । मिलेर जाँदा नै देश बन्छ ।’



प्रतिक्रिया दिनुहोस्