Logo

पेट्रोलियम पदार्थको मूल्य घट्यो, आजदेखि तीनथरी मुल्य



काठमाडौं, असार १९ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पहिलो, दोस्रो र तेस्रो वर्ग विभाजन गरि न्युनतम प्रतिलिटर ५ रुपैयाँ देखि ७ रुपैयाँ ५० पैसासम्म घटाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी तेस्रो वर्गमा राखिएको काठमाडौं‚ पोखरा र दीपायलमा पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५–५ रुपैयाँका दरले मूल्य घटाएको जनाएको छ ।

यसैगरि, निगमले पहिलो वर्गमा राखेको तराईको हकमा भने प्रतिलिटर साढे ७ रुपैयाँ घटाएको बताएको छ । त्यसैगरि, दोस्रो वर्गमा राखेको सुर्खेत र दाङमा प्रतिलिटर ६ रुपैयाँका दरले पेट्रोलियम पदार्थको मुल्य घटाएको निगमले जनाएको छ ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले यसरी मूल्य घटाउने निर्णय गरेको हो । यसपटक भने निगमले वैज्ञानिक प्रणालीबाट मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारि दिए ।

निगमले यसपटक तराई (चारअली‚ विराटनगर‚ जनकपुर‚ वीरगन्ज‚ अमलेखगन्ज‚ भलवारी‚ नेपालगन्ज र धनगढी) लाई पहिलो वर्गमा राखिएको जनाएको छ । यसैगरि, दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ रहेका छन् । त्यस्तै तेस्रो वर्ग अन्तर्गत काठमाडौं‚ पोखरा र दीपायललाई राखिएको निगमले जनाएको छ ।

यसरी घटाईएको नयाँ मुल्यदर अनुसार अब काठमाडौं‚ पोखरा र दीपालयमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५०–१५० रुपैयाँ पर्नेछ । यसैगरि, तराईमा पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६७ रुपैयाँ ५ पैसा पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४७ रुपैयाँ ५ पैसा, १४७ रुपैयाँ ५ पैसा पर्नेछ ।

त्यसैगरि, सुर्खेत र दाङमा भने पेट्रोलको उपभोक्ता मूल्य प्रतिलिटर १६९ रुपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४९/१४९ रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखेको जनाएको छ ।

यसैगरि, निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँ तथा वाह्य इन्धनको मूल्य १५ रुपैयाँले घटेको निगमले जनाएको छ ।

निगमका अनुसार घटाईएर नयाँ निर्धारण गरिएको यस्तो मूल्य निगमको डिपोबाट १५ किलोटरसम्मको क्षेत्रमा लागु हुन्छ । भारतीय आयल कर्पोरेसन लिमिटेडबाट गत १६ आसरमा प्राप्त भएको नयाँ खरिद मूल्यसूचीका आधारमा निगमले सोमबार यस्तो निर्णय गरेको हो ।

यसैगरि, निगमले साविकको आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर १४ रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलोलिटर अमेरिकी डलर ११५ ले कम गरिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्