Logo

नेकपा व्युताउने कुरा गर्ने प्रचण्ड र माधव नेपाललाई एमाले महासचिव पोखरेलले दिए कडा दनक



काठमाडौं, १९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेकपा व्युताउने चर्चा चलाईएकोबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । विगतमा नेकपाकालिन सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न अदालतसम्म धाउनेहरुले नै अहिले नेकपा व्युताउने कुरा गरेको भन्दै पोखरेलले आपत्ति जनाएका हुन् । उनले अहिले नेकपा व्युताउने कुरा गर्नु काशी जानु कुतिको बाटो भनेजस्तै भएको पनि टिप्पणी गरेका छन् ।

नेता पोखरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने क्रममा कडा टिप्पणी गरेका हुन् । पछिल्लो समय प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा व्युताउने कुरा गरिरहेका छन् ।

उनले लेखेका छन्-

यतिवेला नेकपा व्युताउने कुराको चर्चा चलाईएको छ । विगतमा नेकपाको नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार गठनगर्न राष्ट्रपति देखि सर्वोच्च अदालतसम्म धाउनेहरु नै यसमा सकृय देखिन्छन् । यतिसम्मकी आम चुनाववाट प्राप्त जनादेश अनुरुप नयाँ गठवन्धन सरकार बनाउदा भएको सहमति तोडेर नेपाली कांग्रेसलाईनै राष्ट्रपतिमा निर्वाचितगर्न विवश भएकाहरुनै वामपंथी एकताको कुरागर्न थालेका छन् । नेपालको वामपंथी आन्दोलनको मुख्य शक्ति नेकपा(एमाले)का विरुद्धमा घेरावन्दी गर्नेहरुले नेकपा व्युताउने चर्चा चलाउनु वा वामपंथी एकताको कुरागर्नु ‘काशी जानु कुतीको वाटो’ भने झै हो । नेकपा(एमाले) यस्ता वेमौसमका अवसरवादी र अस्तित्व रक्षाका लागि गरिएका निरर्थक प्रलापप्रति सचेत छ ।

अव नेपालकाे राजनीतिमा विचारका आधारमा राजनीतिक धु्विकरण आवश्यक छ । विकास र समृद्धिका लागि नीतिगत नेतृत्व सहितको बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्दछ । त्यसको लागि प्रमुख दलहरुलाई नीति, कार्यक्रम र योजना सहित सुदृढ गर्नु आवश्यक छ । तर त्यो असफल भइसकेको नेकपाको पुनस्थापनाको वाटोवाट होइन, नयाँ र मौलिक तरिकाको राजनीतिक ध्रुविकरणको वाटोवाट मात्र सम्भव हुन्छ । तसर्थ अव नेताहरुको टाउका जोडेर होइन भविष्य भएका युवाहरुको मन जोडेर आन्दोलनलाई सुदृढगर्ने वाटोमा अघि वढ्न सक्नु पर्दछ ।

अहिले जस्तो जनमत गुमाएकाहरुले राज्यसत्ताको नेतृत्व गरिरहेको विकृत राजनीतिक अभ्यासलाई अन्त्यगर्नका लागि बलिया राजनीतिक दल र त्यसको जगमा राजनीतिक स्थायित्व कायम गर्नसक्ने बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्नुपर्ने हुन्छ । नेकपा(एमाले) त्यसका लागि वैचारिक, राजनीतिक, संगठनात्मक योजनाका साथै मनोवैज्ञानिकरुपमा नयाँ ढंगले अघि वढ्न प्रतिवद्ध छ ।

अव हरेकले महसुस गर्ने वेला भयो- विकास र समृद्धिका लागि गठवन्धन नामको अस्थिरता र अलमलको वाटोमा होइन, बलियो राष्ट्रिय शक्ति निर्माणको उज्यालो बाटो देशका लागि अपरिहार्य छ । File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot