Logo

यातायातमन्त्री ज्वालाद्वारा ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरूवात (फोटोफिचर)



काठमाडौं, २० असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले बुधबार देशभरका यातायात कार्यालयबाट प्रवाह हुने सेवालाई प्रविधिमैत्री र सहज बनाउन साबिकको लाइसेन्स प्रणालीमा सुधार गरी विद्युतीय सेवा प्रवाह प्रणाली ‘अप्लाइडीएलन्यू डीओटीएम डट जीओभी डट एनपी’ वेबसाइटको सुरुवात गरेका छ्न । उनले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रक्रियालाई थप व्यवस्थित बनाउने गरी अनलाइन प्रणालीको विकास गरिएको स्पष्ट पारेका हुन् ।

उक्त प्रणालीबाट सेवाग्राहीले लाइसेन्स प्रक्रियाको आवेदनदेखि राजस्व भुक्तानी समेत गर्न सक्नेछन् । यसअघि लाइसेन्स प्रक्रियाको अनलाइन आवेदन दिन सकिने व्यवस्था भए पनि फर्म बुझाउने, राजस्व भुक्तानी देखि लिखित र प्रयोगात्मक परीक्षा यातायात कार्यालयमा नै गएर दिनुपर्ने व्यवस्था रहेको थियो । उक्त प्रविधिको सुरुवातसँगै अब आवेदनपछि सेवाग्राहीले एकपटक मात्र कार्यालय गए हुने भएको विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

सुरुमा यो प्रणाली गण्डकी प्रदेश अन्तरगतको यातायात व्यवस्था कार्यालय, कास्कीबाट २०८० असार २० गते देखि परीक्षणको रूपमा लागू गरिने विभागले जनाएको छ । यसपछि एक महिना भित्रमा यो प्रणालीलाई देशका सबै प्रदेश सरकार अन्तरगतका यातायात व्यवस्था कार्यालय/सेवा कार्यालयहरूमा लागू गर्ने लक्ष्य लिइएको महानिर्देशक भट्टराईले जानकारी दिए । यसबाट नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को नति तथा कार्यक्रममा व्यक्त गरेको सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोगलाई विस्तार गर्ने नीति कार्यान्वयनमा समेत सहयोग पुग्ने भट्टराईको भनाइ छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot