Logo

‘तीनै तहको सरकारमा कांग्रेस पहिलो छ, महामन्त्रीहरु प्यारप्यार बोल्दैमा पार्टी कमजोर हुन्छ ?’



काठमाडौं, १० साउन । स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफूले चाहेको कुरा नपाएपछि सभापति शेरबहादुर देउवाको विरोध गरेको आरोप लगाएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभापति देउवा नेतृत्वको कांग्रेसले तीनै तहको सरकारमा सबैभन्दा ठूला दल बन्दा पनि महामन्त्रीहरुले आफूले मागेको नपाएपछि विरोधका लागिमात्रै विरोध गरेको बताएका हुन् ।

‘कांग्रेस पार्टी बलियो भयो कि कुन पार्टी बलियो भयो ? त्यो हेर्ने चुनावमा हो । स्थानीय सरकारमा सबैभन्दा बढी चुनाव जित्ने कांग्रेस हो । प्रदेशमा सबैभन्दा बढी चुनाव जित्ने कांग्रेस हो । संघीय चुनावमा सबैभन्दा बढी सिट कांग्रेसले जितेको छ । जिल्ला समन्वय समितिमा कांग्रेसले अत्याधिक सिट जितेको छ । एकदुई जनाले आफूलाई चाहिएको कुरा पाईएन भनेर प्यारप्यार बोल्दैमा कांग्रेस कमजोर हुन्छ ?’– उनले भने ।

महामन्त्रीमा निर्वाचित भएपछि गगन र विश्वप्रकाशले ठूला–ठूला कुरा गर्दा विश्वास गुमाएको उनको दाबी छ । गगन र विश्वप्रकाशले सभापतिको विकल्प खोजिरहँदा महामन्त्रीभन्दा तल्लो तहका नेता तथा कार्यकर्ताहरुले पनि महामन्त्रीद्वयको विकल्प खोजिरहेको उनको भनाई छ ।

‘उहाँहरु दुई जना महामन्त्री भएपछि उहाँहरुको राजनीतिक औकात कहाँ पुग्यो भन्ने कुरा तपाईँहरुले नै मिडियामा बोलिरहनु भएको छ । उहाँहरु खच्किनु भयो । उहाँहरुले धेरै ठूला–ठूला कुरा गर्नुभयो । उहाँहरु सभापतिलाई हराउनु पर्छ भन्नुहुन्छ । उहाँहरु (महामन्त्रीद्वय) लाई उहाँहरुभन्दा तलकाले हराउनु पर्छ कामै छैन भन्छन् । अधिकांश केन्द्रीय सदस्यहरुको भाषण, उहाँहरुको मन्तव्य, वक्तव्य, भनाई उहाँहरुको क्रियाकलापको विरुद्धमा बोल्नु भएको छ,’– उनले भने ।

उनले सभापति देउवालाई हटाएर आफू संसदीय दलको नेता हुन गगनलाई सजिलो नरहेको बतबाए । संसदीय दलको निर्वाचनमा गगनलाई उनको गुटकै संसदहरुले मतदान नगरेको मन्त्री बस्नेतको दाबी छ । आफ्नो समूहका नेताको समेत मन बुझाउन नसक्नेले बमुमत पाउन असम्भव रहेको उनको भनाई छ ।

‘स्यालले गोरु भिरबाट लडोस् भनेर सरापेको भरमा गोरु लड्दैन क्या । उहाँहरुले भन्न पाउने पार्टी हो यो । आफ्ना कुरा राख्न पाईन्छ । हुने नहुने कुरा बेग्लै हो । संसदीय दलको चुनावमा उहाँलाई आफ्नै टिमले त पत्याएको छैन । अरुले कहाँबाट दिने ? संसदीय दलको नेता परिवर्तन गर्न उहाँ (गगन थापा) ले कुनै हालतमा सक्नुहुन्न । न उहाँको हुतीले भ्याउँछ, न बुद्धिले भ्याउँछ । न विधिले भ्याउँछ, न औकात हैसियतले भ्याउँछ ?’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot