Logo

सामुदायिक वनबाट आम्दानी गर्दै उपभोक्ता



देउखुरी (दाङ), ३२ साउन । दाङका केही सामुदायिक वनमा रहेका खाली जग्गामा कुरिलो खेती गरिएको छ । सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध विपन्न समुदायको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले डिभिजन वन कार्यालयले कुरिलो खेती गर्न सुरु गरेको छ ।

घोराही उपमहानगरपालिका–१८ अखबरेमा रहेको वसन्त हरियाली सामुदायिक वनको दुई हेक्टर खाली जग्गामा छ हजार दुई सय कुरिलोको बेर्ना लगाइएको छ । वन तथा वातावरण मन्त्रालयको  पाँच लाख र डिभिजन वन कार्यालयको थप २५ प्रतिशत लगानी तथा समूहका उपभोक्ताको सहभागितामा कुरिलोको बेर्ना रोपिएको छ । अहिले लगाएको कुरिलोका बेर्नामध्ये २५ प्रतिशत मर्नसक्ने आँकडाअनुसार चार हजार पाँच सयभन्दा बढी बिरुवा हुर्किरहेका छन् ।

प्रति १० बोटबाट एक किलो कुरिलो सङ्कलन हुने र एउटा बोटबाट वर्षमा कम्तीमा तीन पटकसम्म उत्पादन लिन सकिने लक्ष्यअनुसार स्थानीय सामुदायिक वनलाई आयआर्जनमा जोड्ने गरी काम अघि बढाइएको डिभिजन वन कार्यालयका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

यहाँबाट कम्तीमा वार्षिक एक हजार तीन सय ५० किलो कुरिलो उत्पादन हुने र अहिलेकै बजार थोक मूल्यअनुसार प्रतिकिलो  पाँच सयमा बिक्री हुँदा पनि वन समूहले वार्षिक  छ लाख ७५ हजार आम्दानी गर्नसक्ने अपेक्षा गरिएको छ । वसन्त हरियाली वन समूहले चार वर्षदेखि श्रीखण्डका बिरुवा रोपेर बगैँचा बनाउन सुरु गरेको ठाउँमा कुरिलो खेती गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका–७ मा रहेको गणेश सामुदायिक वनले दुई दशकअघि आफ्नो हाताभित्र राप्ती शान्ति उद्यानको जग बसाएको थियो । अहिले उद्यानको कामले सार्थकता पाएको छ । राप्ती शान्ति उद्यान जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । यहाँ बाह्रै महिना जिल्लाभित्र तथा छिमेकी जिल्लाबाट समेत अवलोकनका लागि आउने गरेका छन् ।

पार्कभित्र चिडियाखाना र अन्य प्राकृतिक वस्तुलाई संरक्षण गरेर राखिएकाले त्यहाँ घुम्न आउने पर्यटकका लागि सो ठाउँ आकर्षणको केन्द्र बनेको छ । वनलाई जोगाउँदै पर्या–पर्यटनसँग जोडेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सन्देश शान्ति उद्यानले दिएको छ । उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीका अनुसार पार्ककै कारण अहिले पाँच सय बढीले विभिन्न प्रयोजनबाट प्रत्यक्षरुपमा रोजगारी पनि पाएका छन् । त्यसले एकातिर वन संरक्षण भइरहेको छ भने अर्कोतिर आयआर्जन पनि भइरहेको छ ।

यस्तै तुलसीपुर–१९ को पकर्रे सामुदायिक वनका केही उपभोक्ताले बाँसबाट उत्पादन गर्न सकिने घरायसी प्रयोजनमा प्रयोग हुने वस्तु र विभिन्न सजावटका सामग्री निर्माण गरेर बिक्री गर्ने गरेका छन् । त्यस्तै लमही नगरपालिका–५ को लमही बसपार्क नजिकै रहेको अजम्बरी सामुदायिक वन क्षेत्रमा जैविक विविधता ग्रीन पार्क निर्माण गरिएको छ । करिब ३० बिघामा फैलिएको यो पार्कमा खुला व्यायमशाला, वनभोज स्थल, बालउद्यान, बोटबिरुवा अनुसन्धान केन्द्र, पहाडको बाटो हुँदै जखेरा तालसम्म पुग्ने पैदल मार्गलगायतका संरचना बनाइएको छ ।

यहाँ पनि पछिल्लो समय अवलोकनका लागि आउनेहरुको सङ्ख्या बढ्दै गएको छ । वन समूहका अध्यक्ष पवन रिजालले सामुदायिक वनलाई पर्यटनसँग जोड्ने र उपभोक्तालाई आयआर्जसँग जोड्ने लक्ष्यका साथ योजना कार्यान्वयनमा ल्याउने काम भएको बताए ।

दाङका १० सामुदायिक वन समूहले सल्लाको खोटो बिक्री गरेर आम्दानी गर्ने गरेका छन् । वन समूहबाट गत वर्ष करिब  नौ लाख ३९ हजार बराबरको ७८ हजार दुई सय ५६ किलो खोटो सङ्कलन गरिएको थियो । खोटो खरिद गर्ने कम्पनीले समूहबाट प्रतिकिलो रु १२ र निकासी कर प्रतिकिलो  १२ राजस्व तिर्ने गरेका छन् । ती वन समूहबाट वार्षिकरुपमा सल्लाको खोटो निकाल्ने काम हुने गरेको छ । दाङमा अहिले पाँच सय ३० जति सामुदायिक वन उपभोक्ता समूह रहेको बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot