Logo

‘तपाईंहरुले काम नगर्दा नागरिकले दु:ख पाए, अब म आफै सडकमा जान्छु र कामको निरीक्षण गर्छु’



काठमाडौं,१८ भदौ । राज्यका निकायबीच गतिलो समन्वय नहुँदा दुरावस्थामा पुगेका काठमाडौं उपत्यकाका सडक तत्काल सुधार गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन् ।

सबै निकायलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाएर मन्त्री ज्वालाले टाइमलाइन तोक्दै उपत्यकाका सडक तत्काल सुधार गर्न निर्देशन दिएका छन् ।

‘सडक विभागले सडक कालोपत्रे गर्छ, केही दिनमै त्यही सडकमा नेपाल विधुत प्राधिकरणले खन्छ । फेरि कालोपत्रे गरिन्छ, लगतै नेपाल टेलिकमले खन्छ, फेरी कालोपत्रे गरिन्छ, लगतै काठमाडौं उपत्यका खानेपानी लिमिटेड, ढल महाशाखालगायतले खन्छ, यसरी सडकको बेहाल भयो’, मन्त्री ज्वालाले भने, ‘सडकको यो हरिबिजोग हेरेर बस्न सकिँदैन, टाइम लाइन तोकेर सडक सुधारमा लाग्नुहोस् ।’

मन्त्री ज्वालाले बोलाएको सडकसँग सम्बन्धित उच्चस्तरीय बैठकमा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ, अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सेना, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका रमेश केसी, ढल महाशाखाका डोलप्रसाद चापागाईँ, नेपाल टेलिकमका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशव शर्मा, सडक विभागका महानिर्देशक सुशील बाबु ढकालको पनि सहभागिता रहेको थियो ।

मन्त्री ज्वालाको निर्देशनपछि तार र पाइपहरू अन्डर ग्राउण्डेट गरिसकेका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाइएको छ । बैठकमा नेपाल विद्युत प्राधिकरणका महानिर्देशक घिसिङले काम सम्पन्न भएका ठाउँमा तत्काल सडक सुधार गर्ने प्रतिबद्धता जनाएका हुन ।

काठमाडौं उपत्यकाभित्र नेपाल विद्युत प्राधिकरणले ५० किलोमिटर सडकमा तार अन्डरग्राउण्डेट गरिरहेको छ । ३२ वटा सडकको ५० किलोमिटरमा काम थाले पनि केही स्थानमा मात्र सम्पन्न भएको छ भने सम्पन्न भएका ठाउँमा पनि सडक सुधार गरिएको छैन । अझै ३३ सडकको ७७ किलोमिटर सडक खन्न अनुमति मागेको छ ।

‘तपाईँहरू काममा गम्भीर नहुने नागरिकले दैनिक सास्ती पाइराख्ने अवस्थामा मन्त्री टुलुटुलु हेरेर बस्दैन’ मन्त्री ज्वालाले भने, ‘अब म आफै सडकमा जान्छु र कामको निरीक्षण गर्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot