Logo

उत्तर कोरियाली नेता किम र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता



काठमाडौं, भदौ २७ । उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच साइबेरियाको अमुर क्षेत्रको रुसी अन्तरिक्ष केन्द्रमा भेट भएको छ । यो केन्द्र भ्लादिभोस्तकबाट करिब एक हजार किलोमिटर टाढा छ ।

नेता किम कालो लिमोजिनमा कस्मोड्रोमको रकेट प्रक्षेपण गर्ने भवनमा आइपुग्दा राष्ट्रपति पुटिनले स्वागत गर्नुभएको थियो । दुवै नेताले मुस्कुराउँदै हात मिलाए र केही शब्दहरू आदान प्रदान गर्नुभयो । क्रेमलिनको आधिकारिक टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा दुई नेताले हात मिलाउँदै गरेको देखिन्छ ।

यसअघि रुसी राष्ट्रपति पुटिन र उत्तर कोरियाका सर्वोच्च नेता किमबीच सन् २०१९ मा भेटवार्ता भएको थियो । आजको द्विपक्षीय वार्तामा हतियार र सैन्य प्रविधि सम्झौता हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय जगतले एक्ल्याएका नेताद्वयले हतियार सम्झौता गर्न सक्ने प्रवल सम्भावना रहेको सुरक्षा विश्लेषकहरूले बताएका छन् ।

नेता किमले उत्तर कोरियाका वरिष्ठ सैनिक अधिकारीलाई साथमा लैजानुको अर्थ हतियार वार्ता हुन सक्ने अनुमान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot