Logo

मलेसियाविरुद्धको खेलमा अर्ना बियरको साढे ७ लाख भन्दा धेरै खर्च, कुन खेलाडीले कति पाए ?



काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया क्षेत्रको छनोट अन्तर्गत आफ्नो दोस्रो खेलमा पनि नेपालले सानदार जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराउँदै लगातार दोस्रो जित निकालेको हो । मलेसियाले दिएको १६६ रनको चूनौतिपूर्ण लक्ष्य नेपालले १८ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा नायक बनेका कुशल मल्लले सर्वाधिक ६५ रन बनाउँदा ७ छक्का र २ चौका हिर्काएका थिए । भने ओपनर कुशल भूर्तेलले पनि ४३ रन थपेका थिए ।

नेपालले खेल्ने छनोट खेलहरुलाई नगद पूरस्कारले प्रायोजन गरेको यति ब्रूवरीको उत्पादन अर्ना बियरले आजको खेलमा ७ लाख ६४ हजार भन्दा धेरै खर्च गरेको छ । अर्नाले आइतबार जानकारी दिएअनुसार उसले नेपालले खेल्ने प्रत्येक खेलमा प्रत्येक एक रनमा एक हजार, चौकामा १० हजार, छक्कामा २० हजार, विकेटमा २५ हजार प्रति डटबल एक हजार र प्रति मेडन ओभर १० हजार दिने घोषणा गरेको थियो ।

आज भएको खेलमा नेपालले मलेसियाविरुद्ध सुरुमा फिल्डिङ गरेको थियो । जसमा ७ जना बलरहरु प्रयोग गरिएको थियो । नेपालको तर्फबाट फिल्डिङमा आएका अविनाश बोहरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, गुल्सन झा, रोहित पौडेल र कुशल मल्लमध्ये सबैभन्दा धेरै रकम अविनाश बोहराले पाउने भएका छन् ।, ४ ओभर बलिङ गरेका उनले ४ विकेट लिँदै २७ रन खर्चिएका थिए । उनले ४ विकेटको २५ हजारका दरले एक लाख र २ डटबल फालेकोमा २ हजार र गरेर कूल एक लाख २ हजार प्राप्त गरेका छन् ।

त्यस्तै २ विकेट लिएर ८ वटा डटबल फालेका सन्दीप लामिछानेले ५८ हजार पाउँदा १ विकेट लिएर ६ वटा डटबल फ्याकेका गुल्सन झाले ३१ हजार प्राप्त गरेका छन् भने कप्तान रोहित पौडेलले बलिङतर्फ २९ हजार र ब्याटिङतर्फ २ हजार गरेर ३१ हजार पाएका छन् । उनले एक विकेट लिएका थिए । त्यस्तै १ विकेट लिएर ५ वटा डटबल फ्याकेका करण केसीले ३० हजार, र विकेटवीहिन रहँदै २ वटा डटबल फालेका सोमपाल कामीले २ हजार पाउनेछन् ।

ब्याटिङतर्फ भने नेपालका ओपनर कुशल मल्लले सर्वाधिक रकम पाउने भएका छन् । उनले २ चौका हिर्काएको १० हजारका दरले २० हजार, ७ छक्काको २० हजारका दरले १ लाख ४० हजार र प्रत्येक रनको एक हजार गरी थप ६५ हजार गरेर २ लाख २५ हजार पाउँनेछन् । अर्नाले चौका र छक्का प्रहार गर्दापनि त्यसलाइ थप एक रन मान्ने बताएको छ ।

नेपालका ओपनर कुशल भूर्तेलले अर्नाले भनेअनुसार ४३ रनको ४३ हजार, ४ छक्काको ८० हजार र ४ चौकाको ४० हजार गरेर कूल १ लाख ६३ हजार ,आसिफ शेखले २ छक्काको ४० हजार , एक चौकाको १० हजार र कूल ३२ रनको ३२ हजार गरी ८२ हजार पाउनेछन् । भनेसन्दीप जोराले ३८ हजार र अन्तिममा ब्याटिङमा आएका विवेक यादवले २ हजार पाउनेछन् । उनले मात्र २ रन जोडेका थिए ।

कम्पनीले घोषणा गरेअनुसार आज सिंगापुरविरुद्धको खेलमा बलिङतर्फ २ लाख ५४ हजार र ब्याटिङतर्फ ५ लाख १० हजार गरेर अर्नाले कूल ७ लाख ६४ हजार बराबरको खर्च गरेको छ । अर्नाले हिजोको खेलमा पनि ६ लाख ६० हजार भन्दा धेरै खर्च गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot