Logo

बागमतीविरुद्ध शानदार जित निकाल्दै त्रिभुवन आर्मी फाइनलमा प्रवेश



काठमाडौं,१४ मंसिर । पोखरामा जारी प्रथम केपी ओली कप टी-२० क्रिकेटमा बागमती प्रदेशलाई ४ विकेटले पाखा लगाउँदै विभागीय टिम त्रिभुवन आर्मी फाइनलमा प्रवेश गरेको छ ।

बागमतीले दिएको १२८ रनको सामान्य लक्ष्य आर्मीले १३ औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो र उसका लागि भीम सार्कीले सर्वाधिक ३९ रन जोडे । त्यस्तै कुशल मल्लले २७, सुवाश भण्डारीले २५ रन थप्दा सोमपाल कामीले अविजित रहँदै १५ रन बनाए । बलिङतर्फ बागमतीका कप्तान सन्दीप लामिछानेले २ विकेट लिएपनि त्यो जितका लागि पर्याप्त रहेन ।

यसअघि पोखरा रंगशालामा टस जितेर सुरुवातमा ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाउँदै १२७ रन जोड्यो । उसका लागि प्रतिक श्रेष्ठले सर्वाधिक ५० रन बनाए । त्यस्तै सन्दीप लामिछानेले १९ रन जोड्दा ओपनर रीत गौतम १४ रनमा आउट भए ।

बलिङतर्फ आर्मीका साहव आलमले ४ तथा सोमपाल कामी २ विकेट लिए

आर्मीले अब आजै हुने दोस्रो सेमिफाइनलको विजेतासँग भोलि उपाधिका लागि भिड्नेछ । दोस्रो सेमिफाइनलमा एपीएफ र मधेश प्रदेश भिड्नेछन् ।



प्रतिक्रिया दिनुहोस्