Logo

राष्ट्रिय सभा निर्वाचन: मतदाता नामावली स्वीकृत, २०४७ जना मतदाता कायम



काठमाडौं,४ पुस । आसन्न राष्ट्रिय सभा निर्वाचनका लागि मतदाता नामावली स्वीकृत भएको छ । निवार्चन आयोगले ११ माघमा हुने निर्वाचनका लागि आज मतदता नामावली स्वीकृत गरेको हो ।

राष्ट्रियसभा चुनावमा प्रदेशसभा सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ । सो व्यवस्थाअनुसार प्रदेशसभा सदस्य ५४९ जना र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख १४९८ जना गरी जम्मा २०४७ जनाको मतदाता नामावली स्वीकृत भएको हो ।

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फको कूल मतदाता ५५० मध्ये निधन भएका प्रदेशसभा सदस्य १ जनाको नाम हटाइ ५४९ जना कायम गरिएको आयोगले जनाएको छ । त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कूल मतदाता १५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष १, नगरपालिका उपप्रमुख १ र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष १, नगरपालिकाका प्रमुख ४ गरी जना ८ को नाम हटाइ कूल १४९८ जनाको नामावली स्वीकृत गरिएको छ। स्वीकृत मतदाता नामावली आयोगको वेवसाइटमा समेत प्रकाशन गरिएको छ ।

निर्वाचन कार्यक्रम बमोजिम यही २० पुसमा निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ र प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ छ । पुस २२ मा अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

प्रदेशसभाका सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ । त्यसअनुसार माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि प्रदेशसभा सदस्यको कूल मतभार २९,०९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कूल मतभार २८,४६२ गरी जम्मा ५७,५५९ मतभार कायम रहेको छ ।

आगामी फागुन २० गते राष्ट्रिय सभामा रहेका एक तिहाईं सदस्यको पद रिक्त हुँदैछ । कानूनत यसरी रिक्त हुने पदमा ३५ दिनअगावै पदपूर्ति गर्नुपर्ने हुन्छ । यसैकारण सरकराले ११ माघमा राष्ट्रिय सभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot