Logo

गैँडाकोट म्याराथनको उपाधि आर्मीका रोकायालाई



नवलपरासी, पुस १६ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा आयोजित प्रथम गैँडाकोट हाफ म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।

आइतबार सम्पन्न दौडमा रोकायाले निर्धारित २१ किलोमिटर दूरी एक घण्टा तीन मिनेट पाँच सेकेण्डमा पूरा गरी उपाधि हात पारेका हुन् । उनले रु एक लाख पुरस्कार प्राप्त गरे । यस्तै दोस्रो स्थान पनि त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिंह राउतले प्राप्त गरे। उनले निर्धारित दूरी एक घण्टा तीन मिनेट ३० सेकेण्डमा पूरा गरी रु ५० हजार पुरस्कार प्राप्त गरे। काठमाडौंको धापाखेलका अजितकुमार यादव एक घण्टा पाँच मिनेट ५२ सेकेण्डमा दूरी पूरा गरी तेस्रो भए । उनले रु २५ हजार पुरस्कार पाए ।

यस्तै महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सीमा चौधरी पहिलो भइन् । उनले सो दूरी एक घण्टा २७ मिनेट १४ सेकेण्डमा पार गर्दै रु २५ हजार पुरस्कार प्राप्त गरिन्। यसैगरी पाँच किलोमिटर विद्यार्थीमैत्री दौड प्रतियोगितामा पश्चिम नवलपरासीका प्रेमलाल कोहार प्रथम भइन् ।

उनले निर्धारित दूरी १५ मिनेट १९ सेकेण्डमा पूरा गरी रु १० हजार पुरस्कार हात पारे । तनहुँको रिसिङका अमृत विक १५ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी दोस्रो तथा काठमाडौंको चन्द्रागिरिका अनुज महत १५ मिनेट ५५ सेकेण्डमा दूरी पार गरी तेस्रो भए। उनीहरुले क्रमशः रु पाँच हजार र रु तीन हजार पुरस्कार प्राप्त गरे ।

विजय फाउण्डेसन नेपालको आयोजनामा भएको गैँडाकोट हाफ म्याराथनमा २८ महिलासहित दुई सय ५० जनाले भाग लिएका थिए । पाँच किलोमिटर दौडमा एक सय ८० विद्यार्थी सहभागी भएका संयोजक आदर्श सिग्देलले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्