Logo

घातक साझेदारी गर्दै न्युजिल्यान्डका रेड्डीको शतक,नेपालले विशाल लक्ष्य पाउने निश्चित



काठमाडौं,७ माघ । आईसीसी यू-१९ विश्वकप क्रिकेटअन्तर्गत नेपालविरुद्धको खेलमा न्युजिल्यान्डका मध्यक्रमका ब्याटर स्नेहित रेड्डीले आक्रामक प्रदर्शन गर्दै शतक प्रहार गरेका छन् । रेड्डीले १०५ बलको सामना गर्दै ८ चौका र २ छक्का हिर्काउँदै शतक पूरा गरेका हुन् ।

उनले कप्तान ओस्कर ज्याक्सनसँग मिलेर चौथो विकेटका लागि १६५ रनको विशाल साझेदारी गरेका थिए । ज्याक्सन ७५ रन बनाएर आकाश त्रिपाठीको बलमा आउट भएका छन् । ज्याक्सन लगत्तै न्यूजिल्यान्डले थप दुई विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा लच्लन स्टाकपोललाई गुल्शन झाले आउट गरे । लगातार बलमा उनले ज्याक कुमिन्सको पनि विकेट लिए । गुल्शन ह्याट्रिकबाट भने चुकेका छन् ।

एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्यान्डलाई खेलमा फर्काउन चौथो विकेटका लागि १६५ रनको साझेदारी गर्दै बलियो योगफलको सम्भावना देखाएका छन् ।

स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरेका थिए । नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए ।

समूह डी मा रहेको नेपालले जारी प्रतियोगितामा आज पहिलो खेल खेल्दैछ । यू-१९ विश्वकपमा हालसम्म नेपाल र न्युजिल्यान्डबीच दुई खेल भएका छन् । जसमा नेपाल विजयी हुँदै आएको छ ।

ताजा अवस्थामा न्युजिल्याण्डले ४४ ओभरमा ६ विकेट गुमाएर २४५ रन जोडेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot