Logo

‘जुनसुकै दल र हैसियतको मान्छे होस्, सहकारी ठगीमा मुछिएकालाई अनुसन्धानको दायरामा ल्याउनुपर्छ’



काठमाडौं, ८ माघ । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सहकारी ठगी गर्नेलाई कानु्न बमोजिम हदैसम्म कारबाही गर्नुपर्ने बताएका छन् । आज (सोमबार) नेपाली रेडियो नेटवर्कको ‘नेपाली बहस’ मा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरणमा नाम मुछिएकाहरुलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हु्न् ।

‘सहकारी पीडितहरु सहकारीका मालिकहरुले ठगेका कारणले गर्दा पीडित भएका छन् । यसमा म के भन्छु भने, को व्यक्ति पर्यो ? त्यो ठूलो कुरा होईन । जोसुकै व्यक्ति भएपनि कानुनका लागि सबै बराबर हुनुपर्छ । कुन दलको मान्छे हो ? कुन हैसियतको मान्छे हो भनेर हेरिनु हुँदैन ।’ उनले भने, ‘जो–जो व्यक्तिहरुको मिलेमातोमा सहकारीको नामबाट ठगी गरिएका छन्, ती सबै कानुनको दायरामा आउनुपर्छ । सबैलाई कानुन बमोजिम कारबाही गर्नुपर्छ । यसो गर्न सकिएन भने देशमा ठूला अराजकता आउँछ ।’

कास्कीका मात्रै नभएर देशभरका सहकारी पीडितहरुले न्याय पाउनुपर्छ भनेर आफू लागिरहेको समेत उनले बताए । साथै, आफू सहकारी पीडितलाई न्याय दिलाउन निरन्तर लागिरहने पनि उनले प्रतिवद्धता व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस्