Logo

विश्व क्षयरोग दिवस, सङ्क्रमण र मृत्युदरमा वृद्धि



नवलपरासी (बर्दघाट सुस्तापूर्व), चैत ११ । नवलपरासीमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्। स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय ८४ जना नयाँ क्षयरोगी पहिचान भएका छन्। नयाँ क्षयरोगीमध्ये दुई दशमलव आठ प्रतिशत बालबालिका छन्।

साउनदेखि माघसम्म जिल्लामा भेटिएका क्षयरोगीमध्ये १० जनाको मृत्यु भएको छ। क्षय रोग लागेर मृत्यु हुनेमध्ये सात पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्ति भट्टाराईले बताए।

‘जिल्लामा अहिले दुई सय ८४ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ,’ उनले भने, ‘औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये १० जनाको मध्यविन्दु जिल्ला अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीयरूपमा उपचार भइरहेको छ।’

जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैंडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन्। यसैगरी, हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए।

जिल्लामा भेटिएका क्षयरोगीमध्ये ९४ दशमलव चार प्रतिशत रोगीको सफल उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका क्षयरोग ‘फोकल पर्सन’ डिल्लीराम तिवारीले बताए।

‘जिल्लामा गत आव २०७९/८० मा पाँच सय ४६ मा क्षयरोग भेटिदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा पाँच सय २९ क्षयरोगी भेटिदा १९ जनाको मृत्यु भएको थियो,’ उनले भने, ‘आव २०७७/७८ मा जिल्लामा चार सय १६ जनामा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो।’

क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेको फोकल पर्सन तिवारीले बताए। मध्यविन्दु जिल्ला अस्पताल डण्डामा डिआर (ड्रक रेसिस्टेन्ट) होस्टल रहेको छ।

चितवन जिल्लाका सात, नवलपरासी (बर्दघाट सुस्तापूर्व) र तनहुँका एक–एक गरी १० जना डिआर क्षयरोगीको आवासीयरुपमा उपचार भइरहेको छ। ‘चालु आवको माघसम्म १७ जनामा डिआर क्षयरोगी भेटिएका छन्। चितवनका ११, नवलपरासी (बर्दघाट सुस्तापूर्व)का चार, तनहुँ र पाल्पाका एक–एक जना डिआर क्षयरोगी परीक्षणबाट पुष्टि भएका छन्,’ उनले भने।

गण्डकी प्रदेशमा डिआर होस्टल नवलपरासी (बर्दघाट सुस्तापूर्व)सँगै बागलुङ र कास्की जिल्लामा रहेका छन्। क्षयरोगको उपचारका लागि गण्डकी प्रदेशमा नौ सय ४५ डट्स केन्द्र रहेको छ।

‘जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङख्या बढ्दै गइरहेको छ,’ फोकल पर्सन तिवारीले भने, ‘समयमै उपचार गराएमा पूर्णरूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ।’

क्षयरोग एक सरुवा रोग हो। जुन माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सुक्ष्म कीटाणुबाट लाग्दछ। यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्दछ। एकजना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने तिवारीले बताए। बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको समेत उनले बताए।

विश्वका आठवटा देशमा मात्र क्षयरोगका दुईतिहाइ बिरामी रहेका छन्। ती रोगीमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इण्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन्। विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ।

नेपालमा गत आव २०७९/८० मा ३७ हजार चार सय ४७ जना क्षयरोगी भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा रहेको छ। सरकारले क्षयरोग निवारणका लागि आव २०७७/७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२/८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य निर्धारण गरेको छ। रासस



प्रतिक्रिया दिनुहोस्