Logo

कास्की एमालेमा खगराज र पीएस समूह आमनेसामने हुँदा त्रिपाठी स्वतन्त्र उम्मेदवार



काठमाडौं,१३ चैत । नेकपा एमाले कास्कीको ११औँ जिल्ला अधिवेशनअन्तर्गत मंगलबार मतदान हुँदै छ । केन्द्रीय नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीका नाममा दुई समूह निर्वाचनमा होमिएका छन् भने एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

अध्यक्षका निम्ति गुरुङ पक्षबाट माधव बास्तोला र अधिकारी समूहबाट बैनबहादुर क्षेत्री ले मनोनयन दर्ता गरेका छन् ।

बास्तोलाको प्यानलबाट सचिवमा सुरेन्द्र गुरूङले उम्मेदवारी दर्ता गरेका छन् भने उपाध्यक्षमा शिव आचार्य, खुला उपसचिवतर्फ श्रीराम पोखरेल र महिला उपसचिवमा राधिका योगी शाही मैदानमा उत्रिएका छन् ।

खगराज प्यानलबाट अध्यक्षमा निवर्तमान सचिव बैनबहादुर क्षेत्री र सचिवमा दर्शन लामा उम्मेदवार छन्। उपाध्यक्षमा भेषराज बराल उम्मेदवार छन् ।

खुला उपसचिवतर्फ लालबहादुर परियार र सीता विकले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै पीएस र खगराज समूह आमनेसामने हुँदा युवा नेता विवेक त्रिपाठीले पनि उम्मेदवारी दिएका छन् । अध्यक्षकै उम्मेदवार विवेक त्रिपाठी यसअघिका जिल्ला कमिटी सदस्य हुन् । क्षेत्री ०७४ सालमा एमालेबाट कास्कीको निर्विरोध जिल्ला विकास समितिका प्रमुख बनेका थिए भने बास्तोला कास्की एमालेका सचिव हुन् ।
त्रिपाठी गत वर्षको आम निर्वाचनमा कास्की ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका थिए । तर, एमालेले जिल्ला अध्यक्ष मनबहादुर गुरुङलाई टिकट दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्