Logo

कर्णालीमा एसइई दिने विद्यार्थी घटे



काँक्रेविहार (सुर्खेत), १४ चैत । बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा कर्णाली प्रदेशबाट सहभागी हुने विद्यार्थीको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घटेको छ ।

यस वर्ष ३५ हजार आठ सय आठजना विद्यार्थीले एसइई परीक्षामा सहभागी हुने भएका छन् । गत वर्ष ३८ हजार नौ सय ७० जना विद्यार्थीले एसइई दिएका थिए । गत वर्षको तुलनामा यो वर्ष तीन हजार एक ६२ जनाले घटेको हो ।

प्रदेश शिक्षा विकास निर्देशनालयका अनुसार यो वर्ष एसइईमा सहभागी हुने परीक्षार्थीमध्ये १७ हजार छ सय २३ छात्र र १८ हजार एक सय ५८ छात्रा छन् । परीक्षाका लागि प्रदेशभर एक सय ८६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै सुर्खेतबाट आठ हजार तीन सय ४८ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ ३३ वटा परीक्षा केन्द्र तोकिएको छ । रुकुम पश्चिममा २३ वटा परीक्षा केन्द्र छन्भने तीन हजार पाँच सय ९३ परीक्षार्थी छन् ।

चार हजार पाँच सय ८२ परीक्षार्थी रहेको सल्यानमा २५ वटा परीक्षा केन्द्र तोकिएको छ । हिमाली जिल्लामा विद्यार्थीको सङ्ख्या निकै न्यून रहेको छ । सबैभन्दा कम डोल्पामा जम्मा सात सय ३३ विद्यार्थीले एसइई दिँदैछन् । यहाँ चार वटा मात्रै परीक्षा केन्द्र तोकिएको छ ।

जाजरकोटमा २२ परीक्षा केन्द्रमा चार हजार छ सय ९४ परीक्षार्थी, दैलेखमा २५ परीक्षा केन्द्रमा पाँच हजार दुई सय ५७ परीक्षार्थीले एसइई दिँदैछन् ।

हुम्लामा छवटा परीक्षा केन्द्र छन् । परीक्षार्थी एक हजार एक सय ९५ छन् । मुगुमा आठवटा परीक्षा केन्द्र र एक हजार एक सय १३ परीक्षार्थी छन् । यस्तै, २४ वटा परीक्षा केन्द्र रहेको कालीकोटमा तीन हजार सात सय ३६ परीक्षार्थी छन् ।

जुम्लामा दुई हजार पाँच सय ५७ परीक्षार्थीका लागि १६ परीक्षा केन्द्र तोकिएको छ । शिक्षा विकास निर्देशनालयका निमित्त निर्देशक दीपा हमालले कर्णालीमा एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्