Logo

उपचुनावको मैदानमा होमियो रास्वपा, मिलनसहित दलबल लिएर इलाम झरे रवि



काठमाडौं,१६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपनिर्वाचनमा होमिएको छ । आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि बिहीबार मात्र उम्मेदवार टुंग्याएको रास्वपा औपचारिक रुपमा घोषणा गर्न इलाम पुगेको छ ।

रास्वपाले हालैमात्र माओवादी त्यागेका पहिचानवादी पत्रकार मिलन लिम्ँबस्लाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको छ । उनको उम्मेदवारी औपचारिक रुपमा शनिबार घोषणा हुनेछ । रास्वपाले भोलि दिउँसो १ बजे इलाम नगरपालिका –७ को चोकबजार, लाकुरी चौतारामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

उक्त कार्यक्रममा सहभागी हुन रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहित नेताहरु उपसभापति डा। स्वर्णिम वाग्ले, सह महामन्त्री कविन्द्र बुर्लाकोटी, संसदीय दलका उपनेता तथा युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, सहप्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य एवं सांसद तोसिमा कार्कीलगायतका नेताहरू आज इलाम झरेका छन् ।

इलाम २ बाट गत आम निर्वाचनमा विजयी भएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचन क्षेत्र प्रतिनिधि विहीन रहेको छ । नेम्वाङको निधनपछि रिक्त सो क्षेत्रमा आगामी वैशाख १५ का लागि उपचुनावको मिति तय भएको छ ।

उपनिर्वाचनका लागि सत्तारुढ दल नेकपा एमालेले नेम्वाङपुत्र सुहाङलाई मैदान उतार्दा रास्वपाले मिलन लिम्बु, पहिचानवादीले डेकेन्द्रसिंह थेगिम, नेकपा एसले जितबहादुर राई र राप्रपाले लक्ष्मी गुरुङलाई उम्मेदवार बनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादीले भने हालसम्म उम्मेदवार टुंग्याउन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्