Logo

सहकारी ठगी प्रकरण छानविन गर्ने हो भने संसदीय समिति होईन उच्चस्तरीय समिति आवस्यक छः एमाले नेता बडाल



काठमाडौं, ३० चैत । नेकपा (एमाले) का नेता केशव बडालले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय समितिले केही पनि गर्न नसक्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सहकारी ठगी प्रकरण छानविन नै गर्ने हो भने सर्वोच्च अदालतका न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानविन समिति बनाउन उपयुक्त हुने बताएका हुन् ।

‘संसदीय समितिले केही पनि गर्दैन । छानविन नै गर्नुपर्ने हो भने उच्चस्तरीय छानविन समिति, सर्वोच्च अदालतका न्यायाधीशहरुको संयोजकत्वमा वा विज्ञ विज्ञ विशेषज्ञहरुको संयोजकत्वमा गर्नुस् । क, ख, ग होईन, ओभरल छानविन गर्नेगरी गरौं,’– उनले भने ।

साथै, उनले सहकारी ठगी प्रकरणमा नियतवस त्यस्ता काम गर्नेहरुलाई राज्यले उन्मुक्ति दिन नहुने बताए । नेता बडालले सहकारीको दर्शन र सिद्धान्त विपरीत कार्य गर्ने मानिस जो जहाँ भएपनि राज्यले पक्राउ गर्नुपर्ने बताए । ‘वर्तमान सरकारका प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई म के भन्छु् भने, जसले नियतवस सहकारीको दर्शन, सिद्धान्त विपरीत क्रियाकलाप गरेर शेयर सदस्यको पैसा गडबड गरेको छ, ती मान्छे आकाश, पातल, अन्तरार्राष्ट्रिय जगतमा जहाँ भएपनि पक्रउनुस् । उनीहरुको पुर्ख्यौलीदेखि तमाम सम्पत्तिबाट शेयर सदस्यको पैसा फिर्ता गराउन लाग्नुस्,’– उनले भने ।

पछिल्लो समय लगभग एक सय सहकारी ठग्ने नियतले नै खोलिएको पुष्टि भएको उनको भनाइ छ । उनले सहकारीको साइनबोर्ड झुण्ड्याउने हो भने सहकारीको दर्शन, सिद्धान्तभन्दा बाहिर गएर काम गर्न नपाइने बताए । साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेको बचाउमा अभिव्यक्ति दिएको कुरामा आफूले विश्वास गरेको बताए । अहिले दोष लगाउनकै निम्ति कसैका विरुद्ध लाग्न नहुने उनको भनाइ छ ।

‘प्रधानमन्त्रीको पनि मैले सुनेँ । कुनै पनि त्यस्तो देखिएन भनेर उहाँले भन्नु भएको छ । प्रधानमन्त्रीले बुझेरै भन्नुभएको होला भन्ने मैले विश्वास किन गर्नुपर्छ भने सिंगो देशका कार्यकारी प्रमुख भनेको उहाँ नै हो । प्रहरीको सीआईबीमा भएका र आइजीपीसँग पनि मैले बेला–बेला कुरा गर्छु । देखिँदैन त्यस्तो त भन्नुहुन्छ । यस्तो स्थिति एकातिर छ भने कसैलाई दोष लगाउनकै निम्ति इत्यादि गर्नपनि हुँदैन,’– नेता बडालले भने ।



प्रतिक्रिया दिनुहोस्