Logo

केही नेताहरुले आफ्नै घरमा आगो लगाएर गए, जसपा अरुले फुटाइदिएको होईनः मनिष सुमन



काठमाडौं, २६ वैशाख । जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले केही उदयीमान र प्रतिभाशाली नेताहरुले आफ्नै घरमा आगो लगाएर गएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जसपा नेपाल फुट्नुमा अरु कसैको हात नरहेको बताएका हुन् ।

‘जनता समाजवादी पार्टी नेपालका केही उदयीमान, प्रतिभाशाली नेताहरु आफैं अकर्मन्य भए । आफ्नो घरमा आफैं आगो लगाउने गरी पार्टीबाट हिँडे । हामी अरु कसैलाई दोषी दिँदैनौं । कुनै शक्तिको हात छैन । पुष्टि, प्रमाणविना हामी कसैको पनि नाम लिँदैनौं,’– उनले भने ।

केही नेताहरुले पद लोलुपत, मन्त्री बन्न नपाएको झोक र महाधिवेशनमा कार्यकर्ताले हाराउने डरका कारण पार्टी छाडेर नयाँ पार्टी बनाएको उनको दाबी छ । विद्रोह गरेर गएका नेताहरुको चाहना महाधिवेशन सार्ने भएपनि निर्धारित समयमै महाधिवेशन हुनुपर्छ भनेर आफूहरु लागिपरेको उनले स्मरण गराए ।

‘४÷५ जना साथीहरु विगत केही दिनदेखि विद्रोही, विद्रोहीजस्तो लाग्थे । उहाँहरुको पद लोलुपता, सत्ता लोलुपता, मन्त्री नपाएका झोकहरु, केही साथीहरु जेठको २८, २९ र ३० गते जनकपुरधाममा महाधिवेशन आसन्न छ । त्यो महाधिवेशनमा म निर्वाचित हुन्न होला । भोलि कार्यकर्ताले मलाई नजिताउला भन्ने कारण उहाँहरुले महाधिवेशन सारौं भन्नुहुन्थ्यो । त्यही भएर उहाँहरुले पार्टी फुटाउनु भयो । पहिले नै छापेर राखेको भिजिटिङ कार्ड नेपाल मेटाएर काम चलाउँछन् जस्तो छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot