Logo

राष्ट्रपतिका अर्थ विज्ञमाथि खनिए ओली, ‘राष्ट्रपतिजीले कस्ता मान्छे र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ?



काठमाडौं, २८ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने निर्णय गरेको विषयमा राष्ट्रपतिका अर्थ विज्ञ डा.चीरञ्जिवी नेपालले दिएको अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका छन् । आज (शुक्रबार) पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रपतिका विज्ञ सल्लाहकारमाथि प्रश्न उठाएका हुन् । ओलीले ‘राष्ट्रपतिले कस्तालाई र कसका मान्छेलाई जागिर खुवाएर राख्नुभएको छ ?’ भन्दै प्रश्न गरे ।

नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्ने निर्णय गर्दा राष्ट्रपतिका अर्थ विज्ञ डा. नेपालले भारतलाई उत्तेजित पार्न खोजेको, नेपालको राष्ट्रियता कमजोर पार्न खोजेकोलगायतका आरोप लगाएको ओलीको भनाइ छ । ओलीले राष्ट्रपतिका अर्थ विज्ञ नेपालको उक्त अभिव्यक्तिलाई ‘तमासा’ को संज्ञा दिए ।

‘नेपालले नेपाली नोटमा नेपालको नक्सा छाप्छ भन्ने खबर आयो । नेपालले नेपालको नोटमा नेपाली नक्सा छाप्छ भन्दा अर्को देश कराएको सुनियो । किन करायो अर्को देश ? उसको देशको नक्सा छापेको होईन । किन करायो होला अर्को देश भन्दैगर्दा राष्ट्रपतिका विज्ञ सल्लाहकार भनिएकाहरु अर्को देश कराएको सँगसँगै यो फलानो देशलाई उत्तेजित पार्न खोजिएको कुरा हो ।’ ओलीले भने, ‘आदि इत्यादि भनेर कस्ता मान्छे सम्माननीय राष्ट्रपतिजीले कस्ता मान्छे, कसका मान्छे जागिर खुवाएर राख्नु भएको छ ? यस्तै मान्छे राष्ट्रपतिले राखेर तिनकै सल्लाहअनुसार नेपाल देशले नेपालको नक्सा, नेपालको नोटमा छाप्दा अर्को देशलाई उत्तेजित पार्न खोजेको, राष्ट्रियता कमजोर पार्न खोजिएको भनेर राष्ट्रपतिको विज्ञ सल्लाहकार भन्नेहरु उफिन्छन् । यो तमासा होईन ?’



प्रतिक्रिया दिनुहोस्

Screenshot