चितवन, १९ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द ठकुरी मेडिकल कलेजको मनोमानी अन्त्य गर्ने भन्दै संघर्षका कार्यक्रमसहित आन्दोलनमा होमिएका छन् । उनको नेतृत्वमा संघर्ष समिति समेत बनेको छ । उनकै निर्देशनमा चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक शाखामा हिजो (बुधबार) ताला लगाएका छन् ।
सीएमसीले अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा तालाबन्दी गरेको थियो। त्यस्तै, अतिरिक्त शुल्क र उचित पारिश्रमिकको माग पूरा नभएसम्म ताला नखोल्ने पनि समितिले जनाएको छ ।
संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटक-पटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । प्रकाश नेत्र विक्रम चन्द विप्लवका छोरा हुन् । उनले सीएमसी मै एमबीबीएस अध्ययन गरेर इन्टर्नसिप गरिरहेका छन् ।
सीएमसीमा अध्यनरत एमबीबीएस, बीडीएस, बीएमएलटी र नर्सिङ संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रति विद्यार्थी लाखौं रुपैयाँ कलेजले असुल गरिरहेको बताउँदै आएका छन् । आईओएमले उपत्यकामा ४२ लाख र उपत्यका बाहिर साढे ४४ लाख शुल्क लिनुपर्ने प्रवधान गरे पनि अधिकांश मेडिकल कलेजहरुले अवैध शुल्क लिने गरेका छन् । अवैध शुल्कको विरोधमा विद्यार्थीहरुले पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको विद्यार्थी विवेक क्षेत्रीले बताए ।
संघर्ष समितिले केही दिनअघि मात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर देशव्यापीरुपमा प्रदर्शन गर्ने गरी अभियान अघि बढाएको छ । यस्तै चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले देशभरको मेडिकल कलेजको समस्या एउटै भएकाले चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गर्नुको अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।
न्यौपानले विद्यार्थीलाई दबाबमा राखेर आन्दोलनमा सहभागी गराइएको पनि दाबी गर्दै आएका छन्। तर, यो आरोपमा कुनै सत्यता नरहेको डा. प्रकाश चन्द ठकुरीले जनाएका छन् । उनकाअनुसार संघर्ष समितिले उठाएका जायज माग सम्बोधन नभएसम्म आन्दोलन रोकिने छैन् ।