Logo

नेकपाको चियापान, पाहुनासँग ओलीको मुस्कान (फोटोफिचर)



काठमाडौं, २९ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो । प्रायः सबै पार्टीका नेताहरु उपस्थिति रहेको चियापानमा नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु बसेर आगन्तुकहरुलाई स्वागत गरेका थिए ।

काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न भएको चियापानमा नेकपाका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो । चियापान कार्यक्रममा सहभागी हुन नेता कार्यकर्ता लाइन लामै लागेको थियो । कार्यक्रमको व्यवस्थापनका लागि पार्टीले आवश्यक स्वयंसेवक परिचालन गरेको थियो ।

चियापान समारोहको सुरक्षाका लागि नेपाल प्रहरीले पनि पर्याप्त मात्रामा जनशक्ति खटाएको थियो । र, कार्यक्रममा विभिन्न जनसांस्कृतिक टोलीले प्रस्तुति पनि दिईएको थियो । अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रित गरिएको थियो ।

मुलुकको बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता, साझेदारी र सहकार्यको मौलिक विशेषतासँगै लामो समयदेखि चल्दै आएको चाडबाड तथा संस्कृतिले नेपाली नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने उद्देश्यले नेकपाले हरेक वर्ष कार्यक्रम गर्दै आएको छ ।

चियापान कार्यक्रममा एक लाख बढीको सहभागिता हुने जनाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का नामबाट निमन्त्रणापत्र पठाइसकिएको थियो ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्