Logo

बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले हानी बोहराको हत्या, खुकुरीले टुक्रा पारी शव व्यवस्थापन



काठमाडौं, २७ साउन । गोंगबुमा आइतबार फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचानसँगै घटनाबारे तथ्य खुलेको छ । प्रहरीले हत्याकी आरोपी कल्पना शाहीलाई पक्राउ गरी रहस्य पत्ता लगाएको छ । हत्याको कारणसहित अहिले साँढे दश बजे अपराध महाशाखाले पत्रकार सम्मेलन गरी वृस्तृत जानकारी दिने भएको छ ।

प्रहरी स्रोतका अनुसार कृष्णबहादुर र कल्पना दुवै विवाहित हुन् । उनीहरु चिनजानमा रहेको र शनिबार साँझ सँगै बियर खाएर बसेका थिए । मादक पद्धार्थ सेवन गर्ने क्रममा कल्पनाले कृष्णबहादुरलाई दहीमा बेहोस हुने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि उनको संवेदनशील अङ्गमा घनले हानेर हत्या गरेकी थिइन् ।

हत्यापछि शव व्यवस्थापन गर्न सुटकेश सानो भएपछि दुईवटा खुकुरीको प्रयोग गरी टाउको र खुट्टा अलग पारेकी थिइन् । सुटकेशमा शरीर र झोलामा टाउको र खुट्टा राखेर पौलैपालो बाहिर लगेर फालेकी थिइन् । आइतबार विहान शव फेला परेको थियो । टाउको र खुट्टा नभएको शव फेला पारेपछि कुकुरको सहयोगले बाँकी अङ्ग र घटनास्थलबारे प्रहरीले पत्ता लगाएको थियो ।

खोज्दै जाँदा उक्त घरमा महिला नभएको जानकारी पाएपछि शंकाको सुई घुमेको थियो । महिला चितवनको टाँडीस्थित माइतीघर पुगेकी थिइन् । उनलाई सोमबार पक्राउ गरी अनुसन्धान बढाइएको थियो । साँझसम्म बयान लिने क्रममा कल्पनाले हत्या कसरी गरेको, किन गरेको कारणसहित खुलाएकी छिन् । त्यसबारे थप जानकारी प्रहरीले अहिले दिदैछ ।

दाङ घर भएका कृष्णबहादुर बोहरा रात नै बस्ने गरी महिलाको कोठामा पुगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । उनी गेष्ट हाउसमा बस्दै आएकोमा त्यहाँका सञ्चालकसँग दुई दिन आउँदिन भनेर हिंडेका थिए ।

गोंगबुस्थित घरको तेस्रो तल्लामा कोठा लिएर बसेकी कल्पनाले नै हत्या गरेको अनुसन्धानबाट पत्ता लागेको थियो । बोहरा पनि परिवार भएका व्यक्ति हुन् । उनी गार्मेन्ट कारखानामा काम गर्थे ।



प्रतिक्रिया दिनुहोस्