Logo

इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानको जित



काठमाडौं, ७ कात्तिक । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले बोलोग्नालाई हराउँदै जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले बोलोग्नालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १६औं मिनेटमा राफेल लियोले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै खेलको २०औं मिनेटमा एडमा सौमारोले रातो कार्ड पाउदा बोलोग्ना १० खेलाडीमा खुम्चिएको थियो । साथै, ३५औं मिनेटमा डाभिड कालाब्रियाले गोल गर्दै मिलानलाई २–० को अग्रता दिलाए । खेलको ४९औं मिनेटमा ज्लाटन इब्राहिमोबीचले आत्मघाती गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो ।

साथै, ५२औं मिनेटमा बोलोग्नाका मुसा बार्रोले गोल गरेपछि खेल २–२ को बराबरीमा पुगेको थियो । यस्तै, खेलको ५८औं मिनेटमा बोलोग्नाका अर्का खेलाडी रोबर्टो सोरियानोले रातो कार्ड पाएपछि बोलोग्ना ९ खेलाडीमा सिमित भएको थियो ।

त्यसपछि, खेलको ८४औं मिनेटमा स्माइलले गोल गर्दै मिलानलाई ३–२ को अग्रता दिलाए लगतै ९०औं मिनेटमा इब्राहिमोबीचले गोल गर्दै मिलानलाई ४–२ को जित दिलाए । जितसँगै मिलान ९ खेलमा २५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने बोलोग्ना १२ अंकका साथ नवौं स्थानमा रहेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot