Logo

पूर्वराजा ज्ञानेन्द्रको अपिलः ‘राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौं’



काठमाडौं, २४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुट्न अपिल गरेका छन् । आज (शनिबार) जुम्लामा आयोजित सभालाई सम्बोधन गर्दै उनले राष्ट्रको पुरानो गौरव फर्काएर आफ्नै पाखुराको बलमा अघि बढ्नेगरी कम्मर कस्न आग्रह गरे । उनले अपार सम्पदा हुँदाहुँदै पनि देश परनिर्भरतातिर गइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौं,’– सम्बोधनका क्रममा उनले भने ।

साथै, उनले अब सुध्रिएर राष्ट्रिय सोचसहित नयाँ समझदारी र संवादका लागि आह्वान गरे । सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ समझदारीका साथ निश्कर्ष निकालौं भन्ने भावना जनमानसमा बढ्दै गइरहेको उनको दाबी छ । ‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’– उनले भने ।

जुम्ला पुगेका पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा ठूलो भीड लागेको थियो । ज्ञानेन्द्र त्यहाँ पुग्दा उनका समर्थकहरुले विभिन्न नाराबाजीसहित ज्ञानेन्द्रको भव्य स्वागत गरेका थिए । File Photo/RN

यस्तो छ, पूर्वराजा ज्ञानेन्द्रको सम्बोधन

उपस्थित महिला तथा सज्जनवृन्द,

प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलङ्गामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा ( म गौरव अनुभव गर्दछु । यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ । साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर हो ।

नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिञ्जा सभ्यताको केन्द्र स्थलको रूपमा रहेको इतिहास छ । चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलङ्गामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ । अनेकौँ अग्ला चुचुरा, भीर, पाखा, खोँच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला ( कर्णाली, तिला र सिँजा नदीद्वारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ । नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र ( खेतीपाती, भेडा, चौँरी र घोडा पालनका हिसाबले महत्त्वपूर्ण रह्यो । कालो मार्सी धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पति जन्य जडीबुटी ( जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन् ।

कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ हामी यहाँका वासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ठ र परस्परमा अत्यन्त आत्मीय छौँ । आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठुलो बल हो । अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरवप्रति आस्था नै हाम्रो ठुलो पुँजी हो । कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ ।

आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ । हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ ( आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ– तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ । कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैन ? तर खै ? त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ ।

यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम सीप र श्रोतको सही उपयोग जुम्लाले गर्न पाएको छैन । राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ । आफू जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ ।

आज, हिजो होइन हामी आफै बदलिरहेका छौँ । परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ । याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ । यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन ।

अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ ।

अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नु हुने तपाई आयोजकहरू र यस क्षेत्रका उत्साहपूर्ण उपस्थितिका लागि सबैमा धन्यवाद

जय नेपाल ।

२०८० चैत्र २४ गते

जुम्ला खलङ्गा



प्रतिक्रिया दिनुहोस्