Logo

मधेसी मोर्चाको आन्दोलन कसैको डिजाइनमा सुरु हुन लागेको छ: कानूनमन्त्री नायक



काठमाडौं, ३ वैशाख । कानूनमन्त्री अजयशंकर नायकले मधेसी मोर्चाको आन्दोलन कसैको डिजाइनमा सुरु हुन लागेको बताएका छन् ।

आइतबार बिहान नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री नायकले भने, ‘मधेसी मोर्चाको आन्दोलन कसैको डिजाइनमा सुरु हुन लागेको छ । उहाँहरूले जनताको पक्षमा काम गर्नुपर्छ ।’ मन्त्री नायकले मोर्चाले कसैको डिजाइनमा आन्दोलन गर्न लागेको भनेर आरोप लगाए पनि कसको डिजाइनमा आन्दोलन हुन लागेको हो केही बताएनन् ।

संविधान संशोधनको नयाँ विधेयक मधेसी मोर्चाको सहमतिमा ल्याएको बताएका कानूनमन्त्री नायकले भने, ‘उनीहरूकै सहमतिमा सीमाङ्कन थाँती राखेर संशोधनको अर्को प्रस्ताव ल्याएका हौँ । अहिले आएर किन विरोध भएको छ हामीले बुझेका छैनौँ ।’

उनले सहमति भयो भने अर्को चरणमा चुनाव गर्न सकिने बताए । ‘चुनाव दुई चरणमा गर्न सकिन्छ । तर, सहमति हुनुपर्छ’, मन्त्री नायकले भने, ‘सीमाङ्कनको कुरा अहिले हटाइदिनुस् भनेकाले मोर्चाको सल्लाहमा नयाँ विधेयक आएको हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot