Logo

अमेरिका र बेलायतको आर्थिक वृद्धिबारे अन्तर्राष्ट्रिय मुद्रा कोषको नयाँ खुलासा



साउन १०, काठमाण्डौ । अमेरिका र बेलायतको आर्थिक वृद्धिको प्रक्षेपण घटाइएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सार्वजनिक गरेको ‘विश्व आर्थिक परिदृश्य’ शीर्षकको प्रतिवेदनमा यस्तो कटौती गरिएको हो । सन् २०१७ को पहिलो तीन महिनाको आर्थिक गतिविधि अपेक्षा गरिएभन्दा सुस्त रहेकोतर्फ औल्याउँदै कोषले वृद्धि प्रक्षेपण घटाएको छ ।

प्रतिवेदनअनुसार सन् २०१७ मा बेलायतको अर्थतन्त्र १ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यसअघि, अप्रिलमा भने यो दर २ प्रतिशत हुने बताइएको थियो । त्यसैगरी, अमेरिकी अर्थतन्त्र यस वर्ष २ दशमलव १ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ ।

यसअघिको प्रक्षेपणमा भने यो दर २ दशमलव ३ प्रतिशत हुने बताइएको थियो । यद्यपि, कोषले समग्र विश्वको वृद्धि प्रक्षेपण भने यथावत् राखेको छ । कोषका अनुसार यसवर्ष र आगामी वर्ष विश्व अर्थतन्त्र क्रमशः ३ दशमलव ५ प्रतिशत र ३ दशमलव ६ प्रतिशतले बढ्नेछ । धेरैजसो यूरोजोन अर्थतन्त्रको परिदृश्य शुरूमा सोचेभन्दा उज्ज्वल छ । कोषले यूरोजोनको यस वर्ष र आगामी वर्षको वृद्धि प्रक्षेपण क्रमशः शून्य दशमलव २ प्रतिशत र शून्य दशमलव १ प्रतिशत बढाएर १ दशमलव ९ प्रतिशत र १ दशमलव ७ प्रतिशतमा र्पुयाएको छ ।

फ्रान्स, जर्मनी, इटली र स्पेनको वृद्धि प्रक्षेपणमा कोषले सकारात्मक संशोधन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot