Logo

“देउवाजी ज्योतिषको शरणमा गएकोले जनताले प्रधानमन्त्री बनाउने संभावना सकियो, जनताको शरणमा त बाम गठबन्धन गैसकेको छ : पोखरेल



देशैभरि डुलेको ऋषि धमलाले बाम गठबन्धनले बहुमत ल्याउँछ त भनेर प्रश्न गर्दा आश्चर्य लाग्छ : पोखरेल
दाङ, १५ मंसिर । दाङ क्षेत्र नम्बर २ प्रदेश सभा क बाट बाम गठबन्धनका साझा उम्मेद्धवार शंकर पोखरेलले अबको निर्वाचनमा बाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार दाङको घोराहीमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै नेता पोखरेलले यस्तो दाबी गरेका हुन् । पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेबार समेत रहेका पोखरेलले चुनावमा जनताले बाम गठबन्धनका उम्मेद्धवारहरुलाई अत्यधिक बहुमत दिएर विजयी गराउने दाबी गरेका हुन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले बाम गठबन्धनले बहुमत ल्याउँछ त भनेर प्रश्न गर्नु नै आश्चर्य लागेको प्रतिक्रिया दिए । उनले भने,“देशभरि हिँड्ने ऋषि धमलाले यस्तो भन्दा आश्चर्य लागेको छ, दुईतिहाई ल्याउँछ, बहुमत ल्याउने पक्का भएको छ।”

पोखरेलले एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त चुनावी घोषणापत्र जारी गरेको र भविष्यमा एउटै पार्टी बनाउने संकल्प गरेकोले यो कुरालाई हार्दिकता साथ जनताले प्रशंसा गरेको सुनाए । उनले भने,“प्रमुख नेताहरुले एकता गर्नुभयो, तर जनता उत्साहित छन्। कार्यकर्ताहरु त झनै एकताबाट उत्साहित छन्, नयाँ तरंग पैदा गरेको छ। दुवै पार्टीको अब एउटै कार्यक्रम भैसकेपछि अब विवाद छैन । एकता हुन्छ । नेतृत्वमा पनि सहमित भैसक्यो । निती, सिद्धान्तमा कुनै विवाद छैन भनेपछि अब के को विवाद ?”

उनले बाम गठबन्धनले बहुमत वा दुई तिहाई ल्याएपनि साम्यवाद नभएर समाजवादतर्फ जाने उद्देश्य सुनाए । “संविधानले निर्दिष्ट गरेको बाटोमा हामी हिँड्छौं, संविधानले परिकल्पना गरेको भनेको नै समाजवाद हो, बरु कांग्रेस वीपीले देखेको समाजवादको आर्दशबाट च्यूत भएको छ।”

उम्मेद्धवार पोखरेलले आफ्नो चुनावी एजेण्डा केवल दाङको लागि मात्रै नभएर सिँगो पाँच नम्बर प्रदेशको समृद्धितर्फ भएको सुनाए । उनले थपे,“दाङ प्रदेशको राजधानी हो, हाम्रा विकासका योजनाहरु छन्, पिउने पानीको समस्या हल गर्छौं, सिचाईको समस्या समाधान गर्ने, शहरी क्षेत्रमा भएका सवारी दुर्घट्ना भएकोले यसलाई हल गर्ने, पहाडी जिल्लाहरुसँग सडक सञ्जाल जोड्ने, अन्तरप्रदेश सडक सञ्जाल जोड्ने, क्षेत्रिय विमानस्थल बनाउने, पर्यटन विकास गर्ने र हब बनाउने र युवाहरुको लागि रोजगारीको सिर्जना गर्ने, पाँच नम्बर प्रदेशको राजधानी भएपछि आर्थिक केन्द्र बन्छ, सबै कुरा हुन्छ ।”

आफूले विज्ञहरु सम्मिलित एउटा समिति गठन गरी समृद्धिको संभाव्यताबारे अध्ययन सुरु गरिसकेको समेत उनको भनाई थियो ।“हामीले अध्ययन सुरु गरेका छौं, मास्टर प्लान तयार पारेर अघि बढ्छौं ।”

दाङमा विकास नै भएन भन्ने कुरा गलत भएको समेत उनको जिकिर थियो । “तर अपेक्षित विकास हुन सकेन, यसको कारण राजीतिक अस्थिरता हो, दश वर्षमा हामी औसत विकसित राष्ट्रको रुपमा नेपालाई पुर्याउँछौं ।”

प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टहरुको शासन आयो भने रुनपनि पाईदैन भनेको कुराप्रति टिप्प्णी गर्दै पोखरेले भने,“देउवाजीलाई मैले भन्ने गरेको छु कि आजसम्म तपाईले रुवाउनुभयो, अब बाम गठबन्धनले जनतालाई हसाँउछ ।”

उनले जनताले शेरबहादुरलाई प्रधानमन्त्री बनाउने संभावना अब सकिएको ठोकुवा गरे । “देउवाजीलाई जनताले प्रधानमन्त्री बनाउने संभावना सकियो, ज्योतिषले उहाँलाई प्रधानमन्त्री बनाईसकेपछि, अब के को प्रधानमन्त्री, जनताको शरणमा त बाम गठबन्धन गैसकेको छ, यो पटकको निर्वाचनमा जनताले कांग्रेसलाई इतिहाँस बनाउँछन् ।”

विकासको मोडेलमा चीन सफल प्रयोगमा भएको उल्लेख गर्दै भने,“खुल्ला अर्थवादी प्रयोग खासगरी जनताको सहभागितामा विकासका मोडेल अघि बढ्छ । ०४९ सालमै यो परिकल्पना मदन भण्डारीले आत्मसात गरेको कुरा हो पूरा हुन्छ भनेर प्रचण्डले समेत भनिसक्नुभएको छ।”

पार्टी एकतापछि कसले नेतृत्व गर्ने भन्ने कुरा पनि सहमतिबाटै टुँगो लाग्ने उनको भनाई थियो । “प्रधानमन्त्री पनि संसदीय दलले छान्छ, केपी ओली नै अहिलेको लागि उपर्युक्त हो भनेर प्रचण्डजीले भन्नुभएको छ, संभावनाका हिसाबले प्रचण्डले ओलीजीको नाम अघि सारेकोले उहाँ नै बन्नुहुन्छ होला, त्यस्तै पार्टी अध्यक्ष पनि कार्यकर्ताले जसलाई चुन्छ, त्यही हुन्छ । कार्यकर्ताले जसलाई रुचाउँछन्, त्यही नेतृत्वमा पुग्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot