Logo

१० वर्षपछि दाङ फर्किएका महरालाई यसपाली पराजित गरेर जनताले गतिलो पाठ सिकाउँछन् : राजु खनाल



दाङ, १५ मंसिर । दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार राजु खनालले आफूले वाम गठबन्धनका उम्मेद्धवार कृष्णबहादुर महरालाई पराजित गर्ने दाबी गरेका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्। उनले भने,“म अहिलेपनि चुनावी अभियानअन्र्तगर्त जनताका घरदैलोबाट आउँदैछु, चुनावी अभियान व्यापक रुपमा चल्दैछ । यो क्षेत्रमा कांग्रेसले बाजी मार्छ, मैले बाजी मार्छु । यो लेखेर राखे हुन्छ।”

०७० को निर्वाचनमा पनि आफूले उक्त क्षेत्रबाट दोब्बर मत प्राप्त गरेर विजयी हाँसिल गरेको स्मरण गराउँदै खनालले भने,“म यो ठाउँबाट डबल मतले जितेर गएको छु, पहिला मैले गरेका प्रतिबद्धताहरु पूरा गरेको छु । कांग्रेसको जनप्रतिनिधिको हिसाबले मैले धेरै काम गरेको छु। यो क्षेत्रमा मैले जति विकासका कार्यक्रमहरु अरु कसैले गरेको छैन्।”

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मुलकुमा भएको दश वर्षे जनयुद्धको कारण भएका संचरनाहरु ध्वस्त भएको गुनासो पोखे । उनले भने,“अहिले विकासको अभियान मैले सुरुवात गरको छु । यो जिल्लामा मेडिकल कलेज स्थापना भएको छ, ३ सय बेडको अस्पताल स्तरोन्नती भएको छ, घोराहीका सडकहरुलाई चार लेन बनाउँछौं ।”

नेता खनालले आफ्ना प्रतिष्पर्धी महरा ०६४ मा चुनाव जितेर गएपछि दाङ एकचोटी पनि फर्केर नआएको आरोप लगाए । उनले भने,“दश वर्षपछि उहाँ भोट माँग्दै हुनुहुन्छ, यो दंगाली जनताले बुझीसकेका छन्, २१ गते राम्रोसँग देखाईदिन्छन्।” उनले महरा राजनीतिक रुपमा पनि असफल नेता भएको आरोप लगाए । खनालले भने,“महराजी के को हेभीवेट, वेटको कुरा गर्नुहुन्छ भने हामी बराबर छौं, अझ म नै बढि हुँला।”

बाम गठबन्धनले आफू नडराएको समेत उनको भनाई थियो । खनालले भने,“गठबन्धनका कारण कुनै सकस छैन, कांग्रेसको पक्षमा एमालेका साथीहरु प्रचारमा लाग्नुभएको छ ।”
त्यस्तै उनले वाम गठबन्धनले एमाले नेता शंकर पोखरेललाई पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीको रुपमा अघि सारेपनि पोखरेल मुख्यमन्त्री हुनै नसक्ने दाबी गरे ।

“मुख्यमन्त्री को बन्ने कुरा अहिले नै भन्न सकिने अवस्था छैन, अहिले जसलाई अघि सारिएको छ, उनी त भित्ते मुख्यमन्त्री मात्रै हुन बास्तवमा उनी मुख्यमन्त्री हुँदैनन्, शंकर पोखरेल बन्दैनन्, प्रदेश सरकार कांग्रेसले बनाउँछ ।”

जनताको मत भनेको भावना पनि भएकोले यो निर्वाचनमा जनताले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई अत्यधिक बहुमत दिएर विजयी गराउने उनको विश्वास थियो । “जनतालाई शीर्ष नेता चाहिएको छैन, उहाँ त शीर्ष ठाउँमा गएको भए हुन्थ्यो, उनले भने,“हजारौं मान्छे मरेका छन् यो राप्ती अञ्चलमा । अहिले नै जनताले भुल्ने अवस्था छैन।”

एमाले र माओवादीका कारणले विकासका काममहरु अवरुद्ध भएको समेत आरोप लगाए । उनले भने,“अब कांग्रेसले संविधानलाई कार्यान्वयन गर्दै राजनीतिक स्थायित्व दिएर समृद्धिको बाटोमा मुलुकलाई अघि लग्छ । बाम गठबन्धनको चक्करमा परियो भने फेरि राजनीतिक द्धन्द्धमा परिन्छ ।”

उनले ५ नम्बर प्रदेशको राजधानी दाङ बन्ने कुरामा कुनै दुई मत नभएको बताए । उनले भने,“म चुनाव जित्छु । मैले हराउने हो र ? जनताले नै महरालाई हराउनुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot