Logo

कालिकोटमा प्रहरी र म्यादीबीच झडपः गोली लागेर एकजनाको मृत्यु



कालिकोट, ७ पुस । जिल्लाको सदरमुकाम मान्ममा नेपाल प्रहरी र म्यादी प्रहरीबीच भएको झडपमा परि एकजनाको मृत्यु भएको छ । प्रहरीले चलाएको गोली लागेर शान्नि त्रिवेणी गाउँपालिका ५ तिकुवा निवासी १९ वर्षीय बिवेक ऐडीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा ३ हजार रुपैयाँ कटौती गरेको भन्दै म्यादी प्रहरी आन्दोलित भएका थिए । विदाई भएका म्यादी प्रहरीले जिल्ला प्रहरी कार्यालयमा ढुंगामुढा गरेपछि झडप भएको थियो ।
म्यादी प्रहरीले ढुंगामुढा गरेपछि प्रहरीले अन्दाधुन्धा गोली प्रहार गरेको थियो । मृतक ऐडीको टाउकोमा गोली लागेको थियो ।

जिल्ला प्रहरी कार्यालय काकिकोटको गेट अगाडि नै गोली लागेर ढलेका बिबेकलाई आधा घण्टासम्म कसैले उठाउने सहास नगरको पत्रकार विष्णु न्यौपानेले जानकारी दिए । अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए ।

पछि उनलाई पत्रकार नागरिक समाजका अगुवा र उद्योग वाणिज्य संघका पदाधिकारीको पहलमा जिल्ला अस्पताल र्पुयाइएको थियो । हिजो दिउँसो १२ बजेदेखि नाराबाजीमा उत्रिएका म्यादी प्रहरीको जुलुस जिल्ला प्रहरीको गेटमा पुग्दा आन्दोलित म्यादी प्रहरी र नेपाल प्रहरीबीच दोहोरो झडप भएको थियो ।

झडपका क्रममा प्रहरी कार्यालयमाथि म्यादी प्रहरीले ढुंगामुढा गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले दर्जनौ सेल अश्रु ग्यास प्रहार गरेको थियो । एक जनाको मृत्यु पछि आक्रोशित बनेका म्यादी र स्थानीयले कालीकोट सदरमुकामको प्रतिमाचोकमा रहेको प्रहरी विट र जिरो प्वाइन्टमा रहेको प्रहरी विटमा तोडफोड गरी आगजनी गरिदिएका छन् ।

यता प्रहरीले भने बाध्य भएर गोली चलाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी सुभास चन्द बोहोराले कार्यालयमै आक्रमण गरेपछि बाध्य भएर गोली चलाएको बताए । उनले म्यादीको पैसा जिप्रकाबाट नकाटिएको समेत दावी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot