Logo

सरकारविरुद्ध मोर्चा कस्दै कांग्रेस



काठमाडौं ४ साउन । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रा.डा. गोविन्द केसीको मागसहितका विषयमा सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास थालेको छ । सभापति शेरबहादुर देउवाले बिहीबार नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र राजपाका नेताहरूसँग छलफल गरेको कांग्रेस मुख्य सचेतक बालकृष्ण खाणले बताए ।

सरकारले ल्याएको विधेयकमा चिकित्सा शिक्षा अध्यादेशको आसय नै तोडमोड गरेको र अध्यादेशका बुँदा हुबहु अघि बढाउने विषयमा दुवै पार्टीका नेतासँग देउवाले साथ मागेका छन् ।

दुर्गमका कमजोर आय भएका पनि डाक्टर र स्वास्थ्यकर्मी बन्न सकून्, मेडिकल क्षेत्र सुधार होस् भन्ने केसीको मागलाई सम्बोधन गर्नु र उनको जीवन रक्षा गर्नु आफूहरूको दायित्व भएको भन्दै देउवाले डा. भट्टराईसँग साथ मागेका थिए ।

यस विषयमा प्रधानमन्त्रीलाई भेटेरै र टेलिफोन गरी गम्भीर बन्न आग्रह गरे पनि सकारात्मक जवाफ नआएको पनि बताएका थिए । चिकित्सा शिक्षालाई जोगाउन संसद् अवरोध गर्नु आफूहरूको बाध्यता भएको भन्दै देउवाले साथ दिन भट्टराईलाई आग्रह गरेको खाणले बताए ।

जवाफमा भट्टराईले आफू प्रधानमन्त्री हुँदा पनि केसी अनशन बसेको र उनका माग पूरा गराउने प्रतिबद्धता पूरा गराउने सर्तमा अनशन स्थगित भएको बताएका थिए । उनको माग जायज भएको भन्दै माग पूरा गर्ने र उनको जीवन रक्षाका लागि आफू लाग्ने प्रस्ट्याएको खाणले जानकारी दिए । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot