Logo

नेपालको संविधान सर्वोत्कृष्ट होइन, नेपाली जनताका लागि संजिवनी बुटी हो : डा. रामवरण यादव



नेपालको संविधान २०७२ जारी भएको ३ वर्ष पूरा भएको छ । यसअघि असोज ३ गते संविधान दिवस मनाउने गरिएपनि सरकारले अब भने राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बिभिन्न समयमा भएका आन्दोलन संविधान जारी भएसँगै संस्थागत भएको भन्दै सरकारले असोज ३ गतेलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको हो । पहिलो संविधानसभा संविधान नदिई विघटन भएपनि दोस्रोले मधेश केन्द्रित दलको असहमतिका बाबजुद २०७२ साल असोज ३ गते लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान जारी गरेको थियो । तत्कालिन राष्ट्रपति डा. रामवरण यादवले संविधान जारी भएको घोषणा गरेका थिए । उनै यादवसँग ऋषि धमलाले कुराकानी गरेका छन् ।उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

डा. रामबरण यादव, पूर्व राष्ट्रपति
संविधान निर्माणमा आफ्नो भूमिकालाई कसरी सम्झिनुहुन्छ ?
संविधान सभाबाट संविधान बनाउने मेरो दायित्व थियो । तर संविधानसभा नै भङ्ग भयो । मेरो कर्तव्य थियो कि अर्को संविधानसभा खडा गर्ने । त्यसका लागि सहमतिको सरकार चाहिन्थ्यो । तर सहमति हुन सकेन । धेरै प्रयास गरेर कांग्रेस, एमाले, माओवादी र मधेशी शक्तिलाई एक ठाउँमा लिएर चुनाव गराइयो । दोस्रो पटक संविधान सभा गठन भयो, संविधान पनि बन्यो ।

तपाईको हातबाट जारी भएको संविधान आज तेस्रो वर्ष पूरा भएको छ । यसलाई कसरी स्मरण गर्नुहुन्छ ?
हामीले संघीय गणतान्त्रिक लोकतान्त्रिक संविधान बनायौँ । यो संविधान समावेशी छ । धर्म निरपेक्षतासहितको संविधान ठूलो संघर्षले बनेको हो । जनताको महत्वपूर्ण भूमिकाले यो संविधान निर्माण गर्न सम्भव भएको हो । संविधानले जनतालाई सार्वभौम बनाएको छ । शक्तिको स्रोत जनतामा छ । तर जनताको प्रतिनिधीले बनाएको संविधानले सबै जनताको भावना समेट्न सकेको छैन ।

सबैको भावना समेट्न तपाईको भूमिका महत्वपूर्ण हुन सक्थ्यो । किन पहल गर्नुभएन ?
मैले धेरै प्रयास गरेको थिएँ । सकिएन । त्यसबेला तीनवटा मुख्य पार्टी थिए । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी । मधेश केन्द्रित दलहरुले संविधानमा विमति राखेका थिए । तर सौभाग्यको कुरा के छ भने अहिले सबैले संविधानलाई सबैले स्विकार गरेका छन् । संविधानअनुसार भएको चुनावमा सहभागि हुने सबै पक्षले संविधान स्विकार गरे भनेर बुझ्नुपर्छ ।

तर संघीय समाजवादी फोरम र राजपाले त संविधानलाई स्विकार गरिसकेको छैन नि ?
ति दलहरु स्थानीय सरकारमा छन् । केन्द्र सरकारमा पनि छन् । सरकारलाई समर्थन पनि गरेका छन् । जनताले दिएको म्यान्डेटअनुसार जिम्मेवारी बहन गरिरहेका छन् । अहिले सबै दलहरु एक ठाउँमा उभिएको देखिन्छ । जुन दलले संविधानप्रति विमति जनाएको थियो त्यही दल सरकारमा छ, सरकारलाई समर्थन गरेको छ । यही मौकामा नमिलेका कुरा मिलाउनुपर्छ ।

संविधान जारी हुने बेलामा धेरै विवाद भयो । त्यसबेला तपाईले वुद्धिमत्तापूर्ण निर्णय गर्न नसक्नुभएको हो ?
मैले वुद्धिमत्तापूर्ण निर्णय नगरेको भए यहाँसम्म आउन सकिदैनथ्यो । संविधानमा विमति राखेर त्यसबेला आन्दोलन गर्ने दलहरु प्रजातन्त्रका पक्षधर नै थिए । युद्ध त गरेका थिएनन् । देशलाई यो अवस्थामा ल्याउन उनीहरुको पनि भूमिका थियो । मैले जारी गरेको संविधानका आधारमा नै देश आजको दिनसम्म आएको छ ।

तर मधेश केन्द्रित दलले संविधान दिवसलाई कालो दिवसका रुपमा मनाइरहेका छन् नि ?
त्यो त विमतिको संकेत हो । केही सच्याउनुपर्छ भन्ने माग हो । यसलाई ठूलो समस्याको रुपमा लिनु हुँदैन ।

आजको दिनसम्म पनि मधेशमा संविधानको किन विरोध भइरहेको छ ?
मधेश केन्द्रित दलहरु सरकारमा सहभागि हुने र समर्थन गर्ने भनेको समस्या समाधानको प्रक्रियामा जानु हो । भएका विमतिमा सहमति जुटाएर अगाडि बढ्नुपर्छ । हामी देश नै बनाउने अभियानमा लागेका छाँै । यस्तो अवस्थामा सहमति खोजिनुपर्छ ।

नेपालको संविधानलाई संसारकै उत्कृष्ट भन्नेहरु पनि छन् । तपाईलाई कस्तो लाग्छ ?
म सर्वोत्कृष्ट छ भन्दिन । संसारमा कुनै पनि संविधान सर्वोत्कृष्ट हुँदैन । तर हाम्रो संविधान प्रजातान्त्रिक छ । लोकतान्त्रिक र समावेशी छ । यो संविधान नेपाली जनताका लागि संजिवनी बुटी हो ।

तपाईले त असोज ३ गतेको मितिलाई कही समय सार भन्नुभएको थियो हैन ?
गल्ती के भयो भने, संविधानसभाको प्रक्रिया अनुसार नियमावली निलम्बन गर्ने, प्रत्येक धारालाई छलफलमा नलगेर एकमुष्ट पास गर्ने, ह्विप लगाउने । यो सब कुरा गर्नुहुन्थेन । किनकी यो संविधानसभाको प्रक्रिया होइन । बरु आयोग बनाएर छिटो गर्न सकिन्थ्यो । संविधानमा त एउटा एउटा विषयमा, धारामा छलफल गर्नुपर्ने हुन्छ । यो कुरा मैले संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री र राजनीतिक दलका अध्यक्षहरुलाई भनेको हुँ । तर त्यसलाई उहाँहरुले मनन गर्न सक्नुभएन । मलाई राष्ट्रपति बनिरहने इच्छा थिएन । २ वर्षका लागि चुनिएको थिएँ । तर ७ वर्ष ३ महिना राष्ट्रपतिको हैसियतमा रहेँ ।
मेरो उद्देश्य त राम्रो संविधान ल्याउँ भन्ने थियो । एउटा समुदाय र एउट भूभाग, जो कता कता छुटेको जस्तो सन्देश गइरहेको थियो । त्यसैले गर्दा मधेशको पार्टीहरुलाई पनि समेटेर लैजाउँ भन्ने मेरो आशय थियो । मैले १५ दिन वा एक महिना पर सारेर भए पनि सबैलाई मिलाएर लानुपर्छ भनेको थिएँ ।

संविधान जारी गर्ने मिति पर सार्नुको आशय के थियो ?
तपाईलाई याद गराउन चाहन्छु, पहिलो मधेश आन्दोलमा मैले के भनेको थिएँ भने पहाडी मधेशी भाइभाइ हो । हामीले मिलेर जाउँ र परिवर्तनलाई संस्थागत गरौँ भनेको थिएँ । मेरो कर्तव्य थियो कि पहाडी, मधेशी सबै मिलेर जाउँ भन्ने । मधेश पनि यही देशभित्र छ । यसलाई समेटेर लैजाउँ भनेको थिएँ । यसो गर्न सकियो भने नेपालको भौगोलिक विविधताबिचमा एकता हुन्थ्यो ।

तर तपाईले भनेजस्तो संविधान जारी गर्ने मिति पर सारेको भए संविधान जारी नै हुनेथिएन भनिन्छ । अर्को कुरा तपाईले किन संविधान सभामा भएर किन संविधान जारी गर्नुभयो त ?
म त लोकतन्त्रमा विश्वास गर्ने मानिस हुँ । ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको संविधान, जहाँ मधेशका सभासदले पनि हस्ताक्षर गरेका थिए । कांग्रेसबाट ५२, एमालेबाट ३७ र अरु दलका पनि मधेशबाट प्रतिनिधित्व गर्ने सभासदले संविधानमा हस्ताक्षर गरेका थिए । संविधानसभाबाट त संविधान पास भएको थियो नि । तर योभन्दा राम्रो संविधान ल्याउन सकिन्थ्यो ।
मैले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालालाई भनेको थिएँ, अन्तरिम संविधानमा भएको समसावेशी समानुपातिक र नागरिकताको विषय जस्ताको तस्तै राखिदिनुस् । किनकी अन्तरिम संधिवान सबै दलको सहमतिमा बनेको थियो ।
संविधानप्रति मेरो असहमति त थियो । तर लोकतन्त्रप्रति विश्वास भएकाले संविधान जारी गरेँ ।

तर तपाईले अलिकति बढि अडान लिएर दलहरुलाई सुझाब दिएको भए अहिले संविधान सजिलै कार्यान्वयन हुन्थ्यो होला नि ?
मैले भन्ने र प्रयास गर्ने सवालमा कुनै पनि कसर बाँकी राखेको थिइन । म भित्रदेखि दुःखी हुँदाहुँदै पनि लोकतन्त्रको प्रक्रियालाई शिरोधार्य गरेको हुँ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot