Logo

दाहालको विकास बजेट माडी केन्द्रीत



चितवन,११ मङ्सिर ।चितवन क्षेत्र नं ३ बाट निर्वाचित भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको छ ।नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहका दाहालले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेपेका थिए ।

स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो । सो क्षेत्रको निर्वाचित सांसद संयोजक हुने गरी रु चार करोड विकास बजेट जिल्ला समन्वय समितिमार्फत् निकासा हुने गर्दछ ।

जिल्ला समन्वय समितिले उपलब्ध गराएको कार्यक्रम तालिकाअनुसार माडी नगरपालिका क्षेत्रका लागि रु एक करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाका २० वटा वडाका लागि रु दुई करोड २७ लाख बजेट विनियोजन भएको छ । माडीमा नौ वटा वडा रहेका छन् ।

माडीका पूरै नगरपालिकामा २१ हजार ६७३ मतदाता छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । ती सबै वडामा एक लाख ५० हजार २७३ मतदाता रहेका छन् जसमध्ये ६६ प्रतिशत हाराहारी क्षेत्र नं ३ मा पर्दछ । दाहालले माडीमा सडक, कल्भर्ड, पुल, पार्क, विद्यालय लगायतका पूर्वाधारमा बजेट विनियोजन गरेका छन। जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जनसङ्ख्याको तुलनामा दाहालको प्राथमिकता माडी क्षेत्रमा परेको बताए ।

जुन क्षेत्र विकासका दृष्टिले पछाडि परेको छ त्यसलाई नै प्राथमिकतामा अध्यक्ष दाहालले पारेको उनले बताए । सशस्त्र द्वन्द्वमा माडीको बाँदरमुढेमा भएको घटनाका कारण दाहालले निर्वाचनको समयमा आलोचना खेप्नु परेको थियो । अहिले विकास बजेटमा प्राथमिकतामा परेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले दाहालले बजेट बाँडफाँडमा माडीलाई प्राथमिकतामा राख्नु भएको जनाए । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot