Logo

पोखरा महानगरपालिकाले सात वडा कार्यालयको भवन बनाइने



काठमाडौँ,११ मंसिर । पोखरा महानगरपालिकाले वडा कार्यालय भवन नभएका वडामा चालू आर्थिक वर्षमै भवन निर्माण गर्ने भएको छ ।विसं २०७३ फागुन २७ गते महानगर घोषणा भएको यहाँको ३३ वटा वडामध्ये अझै पनि सातवटा वडाका आफ्नै भवन नहुँदा सेवा प्रवाह प्रभावकारी बन्न नसकेको गुनासो बढेको छ ।

भाडाका घरमा कार्यालय सञ्चालन गर्नुपर्दा सेवाग्राहीलाई असुविधा हुनाका साथै जनप्रतिनिधि तथा कर्मचारीका लागि कार्यकक्ष अपुग छ । कतिपय वडामा पटक–पटक कार्यालय सर्दै हिँड्नुपर्ने बाध्यता भएकाले महानगरले चालू आवमै त्यस्ता वडा कार्यालयका सुविधासम्पन्न भवन बनाउन शुरु गरेको हो । महानगरका २, ७, ११, २५, २६, ३१ र ३२ नं वडा कार्यालयको आफ्नो भवन छैन । ती कार्यालयले हाल भाडाको घरबाट जेनतेन सेवा दिँदै आएका छन् ।

भवन निर्माणका लागि कार्यालयले चालू आवमा रु १० करोड बजेट विनियोजन गरेको महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जानकारी दिनुभयो । महानगरको ११ नं वडा कार्यालयको भवन शिलान्यास भइसकेको छ भने वडा २ र ३१ को बोलपत्र आह्वान प्रक्रियामा छ । बाँकी सबै वडाका भवनको निर्माण चालू आवमै शुरु हुने र आगामी दुई वर्षभित्रमा सम्पन्न गरिसक्ने लक्ष्य रहेको उहाँको भनाइ थियो ।
वडा भवन निर्माण एकै वर्षमा पूरा नहुने भएपछि महानगरले त्यसका लागि बहुवर्षीय ठेक्काअनुसार चालू आवका लागि रु १० करोड छुट्टाएको बताएको छ ।

महानगरले भवन नभएका वडा कार्यालयको भवन निर्माण तथा भएकाको स्तरोन्नतिलाई पनि सँगसँगै अघि बढाउने भएको छ । गत आवमा केही वडाका भवन स्तरोन्नति गरिएकामा चालू आवमा १९, २३ र २४ का वडा कार्यालय भवनको माथिल्लो तलामा ट्रष्ट राखिने महानगरका सूचना अधिकारी गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।

वार्षिक नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम महानगरले कर तथा राजश्व सङ्कलनका काम वडा कार्यालयबाटै थालेको छ । महानगरमा हुने अनावश्यक भीडभाड कम गर्ने र जनतालाई आफ्नो पायक पर्ने ठाउँबाट सेवा दिने नीतिअनुसार महानगरका ३३ वटै वडाबाट कर तथा राजश्व सङ्कलन गर्ने लक्ष्य महानगरको भए पनि वडाका आफ्नै भवन नहुँदा असुविधा भएको हो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot