Logo

डा. केसीलाई जोडेर गगनजी र मलाई नजुधाउनुहोला : योगेश भट्टराई



योगेश भट्टराई, नेता, नेकपा

पछिल्लो समय डा. गोविन्द केसीको अनसन चर्चामा छ । आफू र सरकारबीच भएको सम्झौताविपरित चिकित्सा शिक्षा विधेयक पारित गर्न खोजिएको भन्दै केसी अनसन बसेका हुन् । यस विषयमा नेताहरुको विचार विभाजित भएको छ । पछिल्लो समय केसीको विरुद्धमा देखिएका नेकपाका नेता योगेश भट्टराईसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाई गोविन्द केसीको विपक्षमा किन उत्रिनुभयो ?
गोविन्द केसीको पक्ष विपक्ष भन्ने प्रश्न नै होइन । उहाँले उठाएका जायज मागका पक्षमा छु । कतिपय गलत कुराको विपक्षमा छु ।

गोविन्द केसीले उठाएका मागमा गलत कुरा केके छ ?
केसीले चिकित्सा शिक्षा सुधारका नाममा आन्दोलन गर्दै आउनुभएको छ । उहाँले जुन ढंगले सुधारका कुरा गर्नुभएको छ, सँगसँगै निमिट्यान्न पार्न पनि खोज्नुभएको छ । केसीको सबै माग पूरा गर्ने हो भने नेपाली विद्यार्थीले नेपालमै पढ्न पाउँदैनन् । काठमाण्डौमा भए पनि मापदण्ड पुगेका मेडिकल कलेज संचालन गर्न दिनुहुँदैन भन्ने माग जायज छैन ।

केसीले त चिकित्सा शिक्षा क्षेत्रको आमुल परिवर्तनको कुरा गर्नुभएको छ नि ?
उहाँले भनेका जायज मागहरु चिकित्सा शिक्षा विधेयकमा आइसेकेको छ । काठमाण्डौभित्र १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने भन्ने पटकपटक उठाउनुभएको थियो । यो कुरा विधेयकमा समावेश भइसकेको छ । त्यसैगरी अन्य मागहरु प्नि विधेयकमा समावेश छ ।

अघिल्लोपटक केसीसँग भएको सम्झौताअनुसार विधेयक बनेन भन्ने केसीको आरोप छ नि ?
उहाँसँग भएको सहमतिको मर्म र भावना अनुसार नै विधेयक बनेको छ ।

माथेमा आयोगको प्रतिवेदन पनि लत्याइएको छ नि ?
सरकारले आयोग वा कार्यदल बनाउँछ । त्यसले सुझाब दिन्छ । तर त्यो सुझाब शतप्रतिशत पालना गर्नुपर्छ भन्ने त हुँदैन नि । हुबहु जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्छ भन्ने बाध्यता सरकारलाई हुँदैन । मुख्य पक्षलाई कार्यान्वयन गर्ने हो । माथेमा प्रतिवेदनलाई सम्मानका साथ भावना र मर्मअनुसार विधेयक तयार भएको हो ।

तर पछिल्लो समय तपाई गोविन्द केसीविरुद्ध आक्रामक किन हुनुभयो ?
गोविन्द केसी वौद्धिक व्यक्तित्व हो । म उहाँलाई सम्मान गर्छु । तर कतिपयले उहाँ र मलाई जुधाउन खोजिरहेका छन् ।

अनि तपाई किन जुध्नुभयो त ?
कतिपय घृणित ढंगले बहसमा उत्रिएका छन् । डा. केसीले अनसन बस्नुपूर्व जुन खालको भाषा शैली प्रयोग गरेर आक्रामक ढंगले आउनुभयो, त्यसको जवाफ दिनैपर्ने थियो । जवाफ दिने क्रममा हामीबाट पनि केही कडा शब्द प्रहार भए होलान् ।

तर गलत रुपमा जवाफ दिनुभयो भनेर गगन थापाले पनि आरोप लगाउनुभयो नि ?
गगनजी र मलाई पनि जुधाउन आवश्यक छैन । गगनजीले आफ्नो स्कुल अफ थटको प्रतिनिधित्व गर्नुहुन्छ, म आफ्नो । उहाँ कांग्रेसको नेता, म नेकपाको । हाम्रो पार्टी अलग छ । तर कतिपय कुरामा समानता छ । हामी सँगसँगै कतिपय कार्यक्रममा जान्छाँै । हिजो पनि गोरखाको एउटा कार्यक्रममा सँगै गएका थियौँ । तर विचार भनेको पार्टीगत पनि हुन्छ, त्यसैले नमिल्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot