Logo

सहभागितामूलक विकासले छिटो गति लिन्छ : अर्थमन्त्री



काठमाडौँ, २९ माघ : अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक क्षेत्रमा भएको लगानीको उच्चतम प्रतिफल लिन तथा कृषि, शिक्षा, स्वास्थ्य, ऊर्जालगायत क्षेत्रको उत्पादकत्व वृद्धिका लागि यातायात पूर्वाधारमा विकास गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल व्यवस्थापन सङ्घको ३८औँ वार्षिकोत्सवलाई आज सम्बोधन गर्दै उहाँले पूर्वाधारको विकासका लागि सहज सुरक्षित र दीगो सडक सञ्जाल निर्माणमा लगानी अति महत्वपूर्ण भएको बताउनुभयो ।

आम नागरिकले घरबाट बाहिर निस्किनेबित्तिकै राम्रो सडक होस् भन्ने चाहनासहित आरामदायी यात्रा गर्न खोज्नु स्वभाविक भएको भन्दै उहाँले त्यसका अतिरिक्त विद्यालय, स्वास्थ्य चौकी जान पनि बाटो चाहिने भएकाले यातायातमा सरोकारवाला निकायले उच्च प्राथमिकतामा गुणस्तरीय लगानी गर्नुपर्ने बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घले तय गरेका दिगो विकासका सत्र लक्ष्यमध्ये नवौँ लक्ष्य भौतिक पूर्वाधारलाई मानेको भन्दै उहाँले व्यापारिक र व्यावसायिक लागत घटाउन पनि राम्रो पूर्वाधार निर्माण हुनुपर्ने बताउनुभयो ।

यातायात क्षेत्रको सुदृढीकरणका लागि सरकारका विभिन्न निकायले काम गरिरहेको भन्दै मन्त्री खतिवडाले रेलवे, मेट्रो, रोप–वे तथा पानीजहाजको विकासका लागि पनि काम भइरहेको जानकारी दिनुभयो ।

उहाँले भौतिक संरचनालाई लागत र वातावरणमैत्री बनाउने, मर्मत सम्भारलगायतको व्यवस्थापन गर्न स्थापना भएका संस्थालाई भूमिका के हुन्छ भन्ने विषयमा स्पष्ट धारणा बनाउन जरुरी भएको भन्दै व्यवस्थापनलाई सघाएर विकासमा जादाँ सहभागितामूलक पक्षमा समेत जोड दिएमा विकासले छिटो गति लिने बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले युवा पुस्तालाई व्यवस्थापन सङ्घको नेतृत्वमा जिम्मेवारी दिई काम शुरु गरिँदा नतिजा छिटो आउने विश्वास गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot