काशीराम शर्मा– वैदेशिक रोजगारीका लागि श्रीमानकै सहमतिमा साउदी अरब गएकी बाँके सीतापुरकी मीना थापा नाम परिवर्तन अहिले पारिवारिक र सामाजिक तिरस्कार झेल्न बाध्य छिन् । वैदेशिक रोजगारीमा जाँदा महिलालाई कम खर्च लाग्ने भन्दै श्रीमानले नै उनलाई विदेश पठाएका थिए ।
विदेशमा जेनतेन उनले राम्रै कमाई गरिन् तर, अहिले उनी श्रीमानबाटै अपहेलित हुनुपरेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण सुखी जीवन र सन्तानको राम्रो शिक्षादीक्षाको सपना बोकेर उनी सल्लाहमै विदेशिएकी हुन् । अहिले श्रीमानले नै आफूलाई विभिन्न खालका लाञ्छना लगाउँदै दुःख दिने गरेको उनले बताइन् ।
साढे ३ वर्षको छोरो छाडेर कुवेत गएकी सीतापुरकै रचना शर्मा नाम परिवर्तनले पनि अहिले सबैतिरबाट तिरस्कार ब्यहोर्नुपरेको छ । आठ वर्षदेखि मलेसियामा रहेका श्रीमानले घर खर्च पनि नपठाएपछि छोराछोरीको भविष्यप्रति चिन्तित हुँदै कुवेत पुगेकी रचना अहिले श्रीमान्, सासू र माइतीबाट समेत अपहेलित छिन् ।
उनी भन्छिन् – “घरबाट बहिष्कृत हुनुपर्दा अहिले अनुहार लुकाउने ठाउँसम्म छैन । घरमा पनि सासूससुराको अपहेलनासँगै माइतीले समेत राम्रो मान्दैनन् ।” मीना र रचनाजस्ता थुप्रै महिलाले वैदेशिक रोजगारीबाट फर्किएर पारिवारिक र सामाजिक तिरस्कार बेहोरिरहेका छन् ।
गीता वली नाम परिर्वतनलाई पनि आफ्नो पीडा सुनाउन निकै गा¥हो भयो । शुरुमै उनको गला अवरुद्व भयो, उनका आँखा रसाए । विदेशबाट फर्किए देखि उनलाई श्रीमान्ले बारम्बार घर छाड्न धम्की दिइरहेका छन् । “तँ घरबाट निस्किहाल, म तँलाई राख्दिनँ भन्दै श्रीमान्ले सधैंजसो पीडा दिने गर्छन्,” उनले भनिन् – “श्रीमान्ले राम्रो नगरे समाजले पनि नरामै्र गर्दोरहेछ ।”
विदेश पुगेपछि पनि आठ महिनासम्म तलब नपाएर दुःख पाएको स्मरण गर्दै गीताले भनिन् – “दुःखीलाई जहाँ पनि दुःख नै हुने रहेछ ।” वैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फकिर्एपछि सानोतिनो व्यवसाय सञ्चालन गरेर आर्थिकस्तर बढाउने सपना बुन्ने गर्छन् तर, उनीहरुलाई समाजमा अपहेलित हुनुपर्ने डर छ ।
श्रीमानको मृत्युपछि कमजोर आर्थिक हैसियतकै कारण विदेशिएकी सीतापुरकै भावना बिक ९नाम परिवर्तन०ले स्वदेश फर्किएपछि चिया पसल शुरु गरिन् तर, उनले त्यसलाई केही समयमै बन्द गर्नुप¥यो । चिया पसल गर्दा समाजले कुरा काट्न थाले । “पसलमा आउने ग्राहकसँग मस्किन्छे, आजभोलि त यसको धेरैसँग लसपस बढेको छ भन्दै कुरा काट्न थालेपछि चिया पसल बन्द गर्नुप¥यो,” भावनाले आँशु झार्दै भनिन् । श्रीमान्ले दोस्रो बिहे गरेपछि छोराछोरीको पालनपोषण र शिक्षाको सपना बोकेर साउदी अरब गएकी महिला पनि छन् ।
परिश्रम र समय एउटै भए पनि खाडी मुलुकमा बस्ने नेपालीले आफ्नो श्रमको उचित मूल्य पाउन नसकेको त्यहाँ जाने महिलाहरुको भनाइ छ । लामो समयसम्म काम गराउने, खान नदिने, कुटपिट गर्ने, गालीगलौच गर्ने र यौन दुव्र्यवहार गर्ने शिकायत उनीहरुको छ । यातना सहन नसकी घरेलु कामदारको रुपमा गएका केही नेपाली महिलाले आत्महत्या समेत गरेका छन् । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको सङ्ख्या बढ्दो छ । ती मुलुकबाट हिंसामा परेर फर्किने महिला पनि बढेका छन् । वैदेशिक रोजगारमा हुने भेदभाव र हिंसा न्यून गर्न सरोकारवालापक्ष बीच समन्वय हुनु जरुरी रहेको वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरु बताउँछन् ।
“महिलाको कमाइ स्वीकार्न नसक्ने र कमाउने आफूलाई मालिक सम्झिने पुरुषवादी सोच त्याग्न जरुरी छ,” उनीहरु भन्छन् । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई घरपरिवारमा सहज वातावरण बनाइदिन उनीहरुले सम्बद्ध निकायहरुसँग आग्रह गरेका छन् । नेपाली महिलामा पछिल्लो समयमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सचेतना जागेको छ । तर, स्वदेशमै रोजगारीको अवसर नहुँदा हजारौं महिला वैदेशिक रोजगारीको बाटो रोज्न बाध्य छन् ।
वैदेशिक रोजगारीबाट फकिर्एका महिलालाई समाजले झन् पीडा दिने गरेको उनीहरुको भनाइ छ । रोजगारीका लागि विदेश जाने इच्छा नभए पनि पारिवारिक समस्याले गर्दा महिलाहरु विदेशिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुमा जति नै पीडा भए पनि एकाधबाहेक धेरैले आफ्ना भोगाइ सार्वजनिक गर्न चाहँदैनन् ।
वैदेशिक रोजगारबाट फर्किएपछि उनीहरुलाई समाज एवं घरपरिवारमा घुलमिल हुन पनि निकै समस्या छ । घरपरिवारमा हुने विभेद, श्रीमान्सँगको बढ्दो दूरी, सम्बन्ध विच्छेद, बहुविवाह, घरेलु हिंसाका कारण विदेशिन बाध्य भएका महिलाहरुमा विशेष गरेर यस्तो समस्या देखिएको छ ।
नेपाली महिलाका लागि रोजगारी प्रतिबन्ध भएका देशमा नेपालबाट जान बन्देज भए पनि भारतीय बाटो प्रयोग गरी विदेशिने गरेका छन् । धेरै महिलाले अवैधरुपमा जोखिमपूर्ण यात्रा गर्छन् । स्वदेश फर्केपछि समाजले गलत दृष्टिकोणले हेर्ने भएकै कारण उनीहरुलाई पुनःस्थापित हुन पनि समस्या छ ।
खाडी मुलुकमा श्रम र यौन शोषण
भारतलगायत खाडीमा काम गर्न पुगेका अधिकाँश महिला यौन र श्रम शोषणमा पर्ने गरेको चेलिबेटी बेचबिखनविरुद्व क्रियाशील संस्था माइती नेपालको तथ्याङ्कले देखाउँछ । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार दलालको प्रलोभनमा परी भारत र खाडी मुलुक पुगेका महिलाहरू यौन र श्रम शोषणमा परेका घटना बढ्दो छ ।
माइती नेपालले जोखिममा परेका महिलाहरुको उद्धार पनि निरन्तर गरिरहेकै छ । यौन शोषणका कारण कैयन महिला मानसिकरुपमा विक्षिप्त अवस्थामा पुगेका छन् । भारत र खाडी बाहेक पछिल्ला दिनमा दलालले नेपाली महिलालाई बङ्गलादेशमा पु¥याएर देह व्यापारमा लगाएको घटनासमेत फेला परेका छन् ।
संयोजक कोइरालाका अनुसार कुवेत, लेवनान, बहराइन र साइप्रस पुगेका थुप्रै महिला यौन शोषणमा परेको र उद्धारका लागि आग्रह गर्दै उनीहरुले निवेदन पनि दिने गरेका छन् । घरेलु कामदारका रुपमा महिलालाई विदेशमा नपठाउन आग्रह भइरहे पनि नबुझेर धेरै महिला खाडी मुलुक जाने र दुःख पाउने क्रम बढ्दो छ ।
वैदेशिक रोजगार विभागको २०७४÷७५ को तथ्याङ्क अनुसार बाँकेका १३६ जना महिला वैदेशिक रोजगारीमा रहेको देखिन्छ । यो सङ्ख्या विभागबाट वैधानिकरुपमा श्रम इजाजत लिएर विदेशिएको सङ्ख्या हो । तर, यो सङ्ख्या भन्दा धेरै महिला अवैधरुपमा भारत हुँदै वैदेशिक रोजगारीका लागि तेस्रो मुलुकमा गएको अनुमान छ ।
विभागका अनुसार सबैभन्दा धेरै कतार र संयुक्त अरब इमिरेट्स ९युएई० मा ३०÷३० जना महिला गएका छन् । मलेसियामा २७ जना, कुवेत २०, साउदी अरब १४, पोल्याण्ड र साइप्रस ३÷३ जना गएका छन् । त्यस्तै, ओमान र माल्दिभ्समा २÷२ जना तथा बहराइन, जोर्डन र हङकङमा १÷१ जना रहेको विभागको तथ्याङ्क छ । रासस