Logo

‘नेकपा फुट्ला र पालो आउला भनेर नसोचे हुन्छ’



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ भन्दै कडा जवाफ फर्काएका छन् ।

मदन भण्डारीको ६८ औं जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले शनिबार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित गरेको विचार गोष्ठी कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘नेकपा फुट्ला र हाम्रो पालो आउला भनेर कांग्रेसले नसोचे हुन्छ। नेकपामा झगडा भएर सत्ता हामीकहाँ आउला भन्ने कांग्रेसले सोच्नै हुन्न, अहिले कांग्रेसको त्यस्तो हैसियत बाँकी रहेन।’

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नामै लिएर प्रचण्डले यस्तो जवाफ फर्काएका हुन् । उनले थपे,‘प्रचण्डजी हाम्रो पार्टी फुट्छ भनेर नचिताउनुहोस, हामी फुट्दैनौं । हामी फुटे सरकार बनाउँला भनेर चाहना नराख्नुहोस । हामी कांग्रेसको त्यो चाहना पूरा हुन दिन्नौं ।’

दुई पार्टी मिलेर नेकपा बनेको भन्दै नेकपाको सफलता नै देशको सफलता हुने उनको भनाई छ । प्रचण्डले मदन भण्डारी र जीवराज आश्रितको नियोजित हत्या भए पनि कसले हत्या र्गयो भन्ने प्रमाण अहिलेसम्म पत्ता लगाउन नसकिएको सुनाए ।

उनले भने,‘मदन भण्डारीको नियोजित हत्या हो। दुर्घटना होइन भन्ने जनतालाई लागेको छ, हामी सरकारमा छौं, तर हत्यारा फलानो हो भनेर किटेर भन्ने प्रमाण प्रस्तुत गर्न सकेका छैनौं। चालकलाई जोगाउन सकिएको भए पनि केही प्रमाण त खुल्थ्यो कि!’ उनले भने,‘हत्यारा विदेशी शक्ति हो कि जस्तो लाग्छ। स्वदेशी तत्व हो कि जस्तो लाग्छ तर प्रमाण छैन।’ भण्डारीको हत्यारा पत्ता लगाएर जनताको बीचमा ल्याउन सक्ने हो भने त्यस्ता घटनाबाट बच्न सकिने उनले बताए।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot