Logo

महिला, बालबालिका र जेष्ठ नागरिकप्रति गम्भीर बन्न आइजीपी खनालको निर्देशन



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रति गम्भीर बनेर सेवा प्रदान गर्न निर्देशन दिएका छन् । प्रहरी सेवामा प्रवेश गरेदेखिनै महिला तथा बालबालिकाको अधिकारका लागि काम गर्दै आएका खनालले उनीहरुको मन जित्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ को १९ साउनमा सोही निर्देशनालयमा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै प्रहरी कर्मचारीहरुले उच्च लगाव एवम् व्यवसायिकतासाथ काम गरी महिला, बालबालिका तथा जेष्ठ नागरिकलाई अझै बढी विश्वासिलो सेवा प्रदान गर्नुपर्ने बताए ।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’ सम्पन्न भएको छ । खनालले तालिममा हासिल गरेका व्यवहारिक ज्ञान, सिप एवम् कौशललाई कार्यक्षेत्रमा दुरुस्त उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिँदै महिला, बालबालिका तथा जेष्ठ नागरिकको मन जित्ने व्यवहार प्रस्तुत गरी पीडितलाई न्याय दिन सक्नुपर्ने बताए । उनीहरुप्रति गरिने सेवामा आवश्यकताको पहिचान एवम् विश्लेषण गरी न्यायपूर्ण काम गर्दै जनमानसमा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउन सफल हुने गरी अगाडि बढ्नुपर्नेमा जोड दिए ।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति सुरक्षा एवम् अमन चयन कायम गर्न नेपाल प्रहरी सदैव लगनशील भई कार्य गर्दै आएको चर्चा गर्दै प्रहरीले प्रदान गर्ने सेवाको समाजमा पनि उचित विश्लेषण एवम् तथ्य जानु जरुरी रहेको बताए। प्रहरीले प्रदान गर्ने विश्वासिलो सेवाका कारणले नै सामाजमा भएका घटनाहरु प्रहरी समक्ष आउने क्रममा बृद्धि भएको समेत उल्लेख गरे।

सो अवसरमा प्रहरी महानिरीक्षक खनाल र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले बालबालिकासँग सम्बन्धित आधारभूत सुरक्षा जानकारी पुस्तिकाको संयुक्त रुपमा लोकार्पण समेत गरे ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका निर्देशक प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले संगठनको आवश्यकता र नीति अनुसार अगाडि जानका लागि तालिम महत्वपूर्ण सावित हुने बताए । तालिमले आवश्यकता पहिचान गरी सबै किसिमका विषयमा दक्ष बनाउनुका साथै सैद्धान्तिक र व्यवहारिक ज्ञान विकास गर्नका लागि थप मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका डिन प्रा।डा। महेशनाथ पराजुली र यूनिसेफ चाइल्ड प्रोटेक्सन सेक्सनका सेक्सन चिफ मारियानाले तालिमको महत्वमाथि प्रकाश पारे ।
प्रहरी उपरीक्षक किरण राणाले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक तारा थापाले प्रशिक्षार्थीको तर्फबाट मन्तव्य व्यक्त गरे ।
तालिममार्फत प्रशिक्षार्थीलाई आवश्यकता पहिचान योजना तयार पार्ने, अध्ययन योजनाको रुपरेखा निर्माण गरी खोजमूलक अध्ययनका लागि विभिन्न विधि अपनाउन सक्ने, वर्तमान र लक्षित कार्यस्तर विश्लेषणद्वारा सेवाको स्तरमा देखिएको फरक मापन गरी आवश्यकता पत्ता लगाउन सक्ने र तथ्यपरक समाधानको योजनाका आधार पहिचान गरी राय सुझाव प्रस्तुत गर्न सक्ने बनाउनु तालिमको मुख्य उद्देश्य रहेको सो अवसरमा जानकारी दिइयो ।

प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको आयोजना एवम् काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशन र यूनिसेफको सहयोगमा संचालित १९ कार्यदिनको उक्त तालिममा प्रहरी उपरीक्षक १ जना, प्रहरी नायव उपरीक्षक ५ जना, प्रहरी निरीक्षक १० जना, प्रहरी नायव निरीक्षक २ जना र प्रहरी सहायक निरीक्षक २ जना गरी कुल २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा मावनश्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राई, प्रहरी नायव महानिरीक्षकहरु, काठमाडौं युनिभर्सिटी स्कुल अफ एजुकेशनका पदाधिकारीहरु, यूनिसेफका पदाधिकारीहरु, प्रहरी वरिष्ठ अधिकृत लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । Photo: File



प्रतिक्रिया दिनुहोस्