Logo

उच्च व्यक्तित्वको सालिक उपेक्षामा



काठमाण्डौ । देश र जनताको लागि महत्वपूर्ण योगदान दिने व्यक्ति मरेर गए पनि अमर रहन्छन् । त्यसरी योगदान दिने कैयाँै व्यक्तित्वको सालिक बनाइन्छ । जन्मदिन वा स्मृति दिवसमा फूलमाला पनि चढाइन्छ । तर ति सालिकको संरक्षणमा भने खासै ध्यान दिएको पाइदैन ।

नेपालमा प्राचीनकालदेखि नै विभिन्न महत्व झल्काउने सालिकहरु विभिन्न स्थानमा देख्न सकिन्छ । पछि आएर विभिन्न कालखण्डमा शासकवर्गले आफूले गरेको कामको योगदान स्वरुप पुस्ताहरुमा सालिकमार्फत पहिचान बनाएर छोडेका थिए । तर केही वर्ष यता सम्बन्धीत पक्षले ध्यान नदिएको गुनासोहरु आउन थालेको छ ।

नेपालमा लिच्छविकालदेखि स्तम्भमा खोपिएर सालिक बनाउन थालिएको थियो । तर नेपालको पहिलो सालिक जंगबहादुर राणाले आफनै आकृति बनाएर राखेका थिए । पछि उनले त्यसलाई हटाउन लगाएका थिए ।

मल्ल कालमा प्रताप मल्लको पालामा सबैभन्दा बढी सालिकहरु बनेका थिए । पछि यसले तीव्रता पाउन थालेको थियो । अहिले नारायणगोपाल चोकमा स्वरस्रमाट नारायण गोपाल, सहिदगेटमा चारजना देशका योद्धा सहिदहरु र त्यसबेलाका राजाको सालिकहरु लगायत अन्य स्थानमा पनि देशको विभिन्न विद्यामा योगदान दिने कवि, राजाहरुको सम्झनामा बनाइएर राखेको छ ।

यसको यतिहासिक महत्व पनि बोकेको हुन्छ । तर अहिले यसको महत्व र सरंक्षणमा सरकार उदासिन छ । सालिकमाथि पनि राजनीति हुने गरेको सर्वसाधारणको ठहर छ । संरक्षण गर्नुपर्ने सालिकलाई राजनीतिक स्वार्थमा मात्रै प्रयोग गर्ने गरिएको नागरिकको गुनासो छ ।

सम्पदाविद डा त्रिरत्न मानन्धरले पनि अहिलेको सरकारले ऐतिहासिक व्यक्तिहरुको सालिक संरक्षणमा ध्यान नदिएको बताउँछन् । ऐतिहासिक धरोहरको रुपमा संरक्षण गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको मानन्धरको आरोप छ ।

यसरी अहिले देशको पहिचानको रुपमा रहेको अधिकांश सालिकहरु अहिले अर्थहीन हुदै गएको छ । एतिहासिक महत्व बोकेको सम्पदाको सरंक्षण गर्ने सम्बन्धमा सरकारले महत्व नदिनु दुखद पक्ष हो । सालिकको संरक्षण मात्रै होइन सम्बन्धित व्यक्तिको योगदानालाई पनि राज्यले कदर गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्